तिहारको पहिलो दिन आज ‘काग तिहार’, यसरी गरिन्छ ‘कागपूजा’

होस्ट खबर २५ कार्तिक २०८०, शनिबार
2 Min Read
Aa

काठमाण्डौं : हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक सुरु भएको छ । आजदेखि यमपञ्चक सुरू भएको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन आज ‘काग तिहार’ । आज बिहानै स्नान गरी मिष्ठान्न परिकार बनाएर कागलाई सम्झेर घरको छत वा घरबाहिर पात वा दुना टपरीमा कागलाई खानेकुरा राखिन्छ । आज कागलाई पूजा आजा गरी खान नदिई आफूले खाएमा पापको भागी हुनपर्ने धार्मिक मान्यता छ ।

त्यसैले आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का‘का‘का‘भन्दै बोलाएर खान दिइन्छ । धर्मशास्त्र अनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता छ । यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ ।

कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो । वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर मात्र ल्याओस् भन्ने कामनाका साथ काग तिहार मनाउने गरिन्छ । गाँउघरमा अझै पनि घर अगाडि काग करायो भने केही सन्देश वा घरमा पाहुना आउने जानकारीको दिएको भन्ने विश्वास गरिन्छ । कागलाई चराहरू मध्यको निकै उदण्ड, धूर्त र चलाख पंक्षी पनि मानिन्छ ।

वैदिक सनातन हिन्दू धर्ममा कागलाई यमदूतका रुपमा चित्रण गरेको पाइन्छ । कागले यमलोकमा गएर पृथ्वीबासीका कर्मका बारेमा चित्रगुप्तलाई सूचित गर्दछ र यमराज रहेसम्म कागको विनाश सम्भव नभएको धार्मिक मान्यता छ । अक्सफोर्ड विश्वविद्यालयको अध्ययन भनिएको छ, ‘कागको दिमागले लगभग चिम्पाञ्जी र मानिसको जस्तै तरिकाले काम गर्छ । कागले मान्छेको अनुहार हेरेर को मित्र र को शत्रु हो भनेर थाहा पाउन सक्छ ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्