चाडबाडमा माछामासु, मिठाई र मानव स्वास्थ्य

होस्ट खबर
होस्ट खबर १ कार्तिक २०८०, बुधबार
9 Min Read
Aa

डा. प्रकाश बुढाथोकी

काठमाडौँ : चाडबाड अझ विशेषतः दसैं, तिहारमा अधिकांश नेपालीलाई शुभकामना आदानप्रदान, खानपिन, रमाइलो र भेटघाटमा भ्याइनभ्याइ हुन्छ । तर चिकित्सकहरू भने ड्युटी गर्न, बिरामीका जिज्ञासा सुन्न र अस्पतालबाट आउने बोलाहटले हैरान बन्छन् । दसैंको समयमा उच्च रक्तचाप, मुटु र पेटजन्य समस्या अपच, पखाला तथा निद्राजन्य बिरामीको संख्या ह्वात्तै बढ्छ र यो वर्ष पनि त्यस्तै रह्यो ।

दीर्घरोगीमा समस्या झन् बढ्छ भने जोखिमको बाटोमा रहेकाहरूमा एकैपटक लक्षण देखिन थाल्छ । दसैंको समयमा आउने तथा देखिने अधिकांश बिरामीको चाप खानपानसँग सम्बन्धित थिए ।

सामान्य मानिसका लागि पनि हानिकारक मानिने मासु उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूलाई त अभिशाप नै बन्यो । मासु प्रोटिनको राम्रो स्रोत भए पनि यसमा कोलेस्टेरोल, फ्याटी एसिड, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रुपमा उपभोग गर्न नसक्दा यस्ले समस्या थप्छ । हाम्रो चाडबाडमा खाइने मासु, चिल्लो, मसला र मद्यपान मुटुमैत्री मात्र नभई स्वास्थ्यमैत्री पनि छैनन् ।त्यसो त जुनसुकै समाजलाई पनि चाडबाडले प्रभाव पार्छ नै तर नेपालीलाई भने अलि बढी नै प्रभाव पार्ने गर्छ । समाजले दसैं, तिहार मुड एक हप्ता पहिलेदेखि एक हप्ता पछिसम्म नै बनाइरहन्छ ।

माछामासु

नपाउँदा नखाने र पाउँदा एकैपटक धेरै र अस्वस्थ ढंगले मासु खानाले चाडपर्वमा रमाइलोभन्दा तनावको अवस्था आउने गरेका छन् । समाजमा मासु, मदिराजन्य पदार्थसँग खाने लत पनि छ जसका लागि छानिने स्थानमा सरसफाइ र गुणस्तरको ध्यान दिइएको देखिँदैन । सेवन गरिने मासु दुई प्रकृतिले गुणस्तरीय हुन जरुरी छ । पहिलो त जिउँदो पशु निरोगी छ कि छैन र अर्को वध गर्ने स्थानदेखि पकाएर खाने स्थान तथा मुखमा चपाउँदासम्म, त्यो मासु गुणस्तरीय र व्यवस्थित रुपले व्यवस्थापन गरिएको छ कि छैन त्यसमा निर्भर गर्छ । त्यसै त नियमित मासु सेवन गर्नेमा मोटोपन, उच्च रक्तचाप, मिर्गौला, मुटु रोग, आन्द्रा र कलेजो खराब हुन्छ भने बढी मासु र बोसो होस् भनेर पशुहरूलाई संगिनी सुई, गर्भवतीलाई खुवाइने आइरन चक्की, कुखुरालाई खुवाइँदा, पशुहरूमा जथाभावी जबरजस्ती औषधि प्रयोगले मानिसमा प्रतिजैविकले काम नगर्ने ‘सुपरबग’ हुनसक्छ । मासुमा एउटा ब्याक्टेरिया भए ७ घन्टामा २० लाख बढी पुग्छ ।

स्वास्थ्यका दृष्टिले रातो मासुभन्दा सेतो मासु राम्रो हुन्छ । रातो मासुले युरिक एसिड, ट्राइग्लेसिराइड, कोलेस्टेरोल, मुटुरोग निम्त्याउँछ । रातो मासु अर्थात् खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासुमा प्रोटिन, फ्याटी एसिड पनि प्रशस्त पाइने भएकाले युरिक एसिडको जोखिम बढाउँछ । सकेसम्म देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाइएको वा उसिनेको मासु खानु कम हानिकारक हुन्छ । कलेजो आइरनको राम्रो स्रोत भए पनि रासायनिक पदार्थहरू फोहोरको रुपमा जम्मा हुने भएकाले उपयोग नगर्दा नै राम्रो हुन्छ ।

चाडपर्वको नाममा धेरै तारेको, भुटेको, पोलेको कुरा कम नहुदाँ मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र पेट क्यान्सर बढाउँछ । फुर्सदिलो समय र बढी मदिरा सेवनले दुर्घटनाको सम्भावना बढाउँछ । तेलमा पाइने ३ प्रकारका फ्याटी एसिडमा स्याचुरेटेड फ्याटी एसिडले मुटुलाई हानी गर्छ । ट्राइग्लिसेराइडले हृदयघातक कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर गर्छ । तेल र चिल्लो पदार्थ जति धेरै पटक ततायो उति नै त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ र स्वास्थ्यका लागि बढी हानिकारक र क्यान्सर बनाउन सक्छ ।

खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ जसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आउँ, पखाला, रिंगटा लाग्ने, आँखा पोल्ने, बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटुसम्बन्धी, मृगौलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्न सक्छ । उपभोग गर्ने मासु अस्वस्थ भइदिए १ सय ६० प्रकारका रोगले आक्रमण गर्न सक्छन् भन्नेमा हेक्का राख्दैनौं ।

गुलियोमा भुलिएको स्वास्थ्य

नेपालमा ८ प्रकारका प्राकृतिक रङ र ११ प्रकारका ‘सिन्थेटिकु वा कृत्रिम रङ प्रयोग गर्न सरकारले अनुमति दिएको छ । तर यस्तो रंग पनि सीमित मात्रामा मात्र प्रयोग गर्न पाइन्छ । बजारमा भने मिनरल, अखाद्य तथा कपडा रंगाउने रंग, मसीसमेत प्रयोग भैरहेका छन् । खाद्यवस्तुमा अन्य रसायन तथा रङ मिसाइएको छ भन्दैमा त्यो खान नहुने र हानिकारक हुने भन्ने हुँदैन । रसायन तथा रङहरूमा समेत खानाको टिकावट बढाउने, भोक जगाउने, खानालाई आकर्षक रुचिकर र पोषिलो पार्ने गुण हुन्छ जस्लाई हामी खाद्य रसायन भन्छौँ । जथाभावी, कृत्रिम र अखाद्य रङ भएको खाद्यवस्तु खाएमा भने स्वास्थ्य बिगार्छ । जहाँ गुलियो त्यहाँ मन भुलियो भन्ने उखान त्यसै बनेको छैन, मिठाई मन पर्दैन भन्ने मानिस फेला पार्न मुस्किल छ ।

रङ मिश्रित तथा दूषित घिउ, तेलको प्रयोगले बनेका खाद्यपदार्थहरूले रक्तकोषिकाहरूलाई विषाक्त बनाई तथा भई शरीरमा रगत कम हुने समस्या एनिमिया, अण्डकोषमा असर परी पुरुषको बीजकोष मार्दै लिङ्ग सानो हुँदै जाने तथा पुरुषत्त्व नाश हुने, मृगौला तथा कलेजोमा घाउ हुने, फोक्सो र छालामा दीर्घरोगका साथै क्यान्सरजस्तो भयानक रोग देखिन सक्छ । गर्भवतीमा गर्भपतनसम्म हुनसक्छ । यस्ता खाद्यपदार्थ सेवन गर्दा पेट गडबड गराउनुका साथै पखाला लाग्न सक्छ । रातो रक्तकोष नष्ट हुन्छ, रगतको कमी हुने रोग लाग्छ, रोगसँग लड्ने क्षमता घट्छ, भित्री कोमल अंगहरू जस्तै– कलेजो, मुटु, मृगौला, कमजोर हुन्छन् । क्यान्सर हुने सम्भावना बढेर जान्छ । चर्मरोग लाग्ने प्रवल सम्भावना हुन्छ । बाझोपन हुनसक्छ । आँखा, कान कमजोर हुनसक्छ । सन्तान कमजोर र अपांग हुन सक्छन् । सन्तानलाई ट्युमर, क्यान्सर हुनसक्छ । कलेजो, पेटको समस्या र हड्डी दुख्ने समस्या पनि देखिन सक्छ । गुलियो मिठाई मधुमेहका बिरामीका लागि त विष नै हो । सेकरिन, एस्पारटिनजस्ता कृत्रिम गुलियो तत्त्व राखेर मिठाई लगायतका खाद्यपदार्थ बनाएको पाइन्छ । यसका पनि आफ्नै नकारात्मक असरहरू छन् ।

सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकोले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनु २ साता अघिदेखि नै बनाइन्छ । अर्को अस्वस्थ बानी जब चाडपर्व वा मिठाइको बिक्रीको समय आउँछ तब पसलेले मिठाई ढोकाबाहिर आँगन, सडकसम्म राखेर बेच्ने चलनले सडकको धुवाँ, धुलोले एकातिर मिठाइलाई दूषित बनाइरहेका हुन्छन् भने अर्कोतिर झिंगा, किरा लागि संक्रमित बनाइरहेका हुन्छन् ।

रङको बारेमा धेरै चर्चा र जानकारी भए पनि एडिटिभ, प्रिजर्भेटिभ, स्टेब्लाइजरको बारेमा धेरैलाई थाहा छैन । खाद्यवस्तुमा एडिटिभले स्वाद र सुगन्ध बढाउने तथा प्रिजर्भेटिभले लामो समय सरक्षित राख्ने बाहेक कुनै पोषण र खाद्य महत्त्व राख्ने गरेको पाइँदैन । खाद्यवस्तुमा एडिटिभ्सको कारण कैयौं किसिमका एलर्जी र विकार हुनसक्छ । छाला चिलाउने, पसिना बढी आउने, अनुहारका रंग उड्ने, डाबर आउने, आन्द्रामा पीडा, वाकवाकी, बान्ता, झाडापखाला, दम, खकार, पिनास, मांसपेशीमा पीडा, जोर्नीमा पीडा, थकान, कमजोरी, व्यवहार र मनस्थितिमा परिवर्तन, हाईपर एक्टिभिटी, माइग्रेन, मुटुको धड्कनमा समस्याजस्ता स्वास्थ्य समस्याहरू खाद्य पदार्थमा एडिटिभ्स हुँदा हुने गर्छ । अखाद्य प्रिजर्भेटिभ बीएचएले बालकलाई चञ्चले बनाउँछ भने ईडिटीएले दम, दाग, पखाला, उल्टी, नशासम्बन्धी समस्याहरू र पेटको क्यान्सरसमेत बनाउन सक्छन् । मिठाईलाई सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजर्भेटिभ्सले जिब्रोमा स–साना खटिरा, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गनाउने, दाँत सडाउने गरेको पाइन्छ ।

चाडबाडको नाममा जीवनशैली अनियमित र मनाउने तरिका अस्वस्थकर भइदिँदा विभिन्न स्वास्थ्य समस्याबाट जगडिरहन्छौं । राति ८ बजेअघि खाना खाने र १० बजेभित्र सुत्ने सम्भावना पनि कम रहन्छ र घरपरिवारलाई दिने समय पनि दिन सकिँदैन । अबेर खाँदा तौल बढ्ने, घुर्ने र भोलिपल्ट बिहान उठ्न नसक्ने र प्रात भ्रमण र व्यायाम हुँदैन । चाडबाडमा हामीले अपनाएका जीवनशैलीले हिजोसम्म स्वस्थकर खाना र जीवनशैलीका बारेमा शिक्षा दिने अभिभावकप्रतिको विश्वास डगमगाउँछ र जस्ले बालबालिकालाई समेत नकारात्मक असर पार्छ । दसैं, तिहार तथा अनेकन चाडबाडले धेरै मानिसलाई बिरामी बनाएर चिकित्सक वा अस्पताल ल्याउँछन् । ट्राइग्लिसिराइड, युरिक एसिड, सुगर, उच्च रक्तचाप ३०–४० प्रतिशत माथि गएको हुन्छ । यसको स्तर ठीकमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही न केही नोक्सान भइसकेको हुन्छ ।

अन्तमा, चाडबाडमा नियमित खाइरहेका औषधि खान बिर्सनु हुँदैन । दिनहुँ एक घन्टा परिश्रम पर्ने गरी हिँड्न, व्यायाम वा योग गर्न तथा सक्रिय क्रियाकलाप गर्न भुल्न हुँदैन । किनभने भर्खर समस्या सुरु भएका, उमेर पुगेका र वंशाणुगत दृष्टिले खतरा भएकालाई रोगले च्याप्ने र जटिलता ल्याउने तथा दीर्घरोगीहरूमा हृदयघात, पक्षघात, मस्तिष्कघात तथा मृत्यु हुने बेला चाडबाड हो । रातो मासु, रंगीन मिठाई, चिल्लोचाप्लोको सेवन तथा आधुनिकता, अनियमित जीवनशैलीले चिकित्सक र स्वास्थ्य संस्था जानु पर्दा पनि दसैं, तिहार थप महँगिने गर्छ । तसर्थ खानपान, जीवनशैली र आदत, बानीलाई नियन्त्रणमा राखी चाडपर्वहरू मनाउन सबै सचेत होऔं ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्