भारतको चन्द्रयान–३ ले इतिहास रच्यो

होस्ट खबर
होस्ट खबर ७ भाद्र २०८०, बिहीबार
5 Min Read
Aa

काठमाडौं : २३ अगस्ट २०२३ का दिन नेपाली समय साँझ ६ बजेर १९ मिनेट जाँदा अन्तरिक्ष अन्वेषणमा भारतले नयाँ इतिहास रच्यो । भारतको चन्द्रयान–३ ले चन्द्रमाको दक्षिण ध्रुवमा सफल अवतरण ग¥यो । त्यसो त, यसभन्दा धेरै अघि नै चन्द्रमामा पृथ्वीबाट प्रक्षेपित अन्वेषणयान अवतरित भइसकेका छन् ।

अमेरिका, तत्कालीन सोभियत संघ र चीनका यानहरू चन्द्रमाको धरातलमा अवतरण गरिसकेका छन् । अमेरिकाले त १२ जना मानवलाई चन्द्रमामा उतारेर सफलतापूर्वक फिर्तासमेत ल्याइसकेको छ । एपोलो ११ यानमार्फत निल आर्मस्ट्रङको चन्द्रमामा पहिलो पाइला अनि उनको ‘एक मानवको लागि सानो पाइला तर मानवजातिका लागि ठुलो छलाङ’ भन्ने उद्गार कसले पो बिर्सेलान् र १ तर यी तमाम मानवरहित एवं मानवसहितका यान चन्द्रमाको उत्तरी ध्रुवमा अवतरण गरेका हुन् ।

पृथ्वीबाट नदेखिने ‘अँध्यारो भाग’ भनिने चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै यान अवतरण भएको यो पहिलोपटक हो । दक्षिणी ध्रुवमा अवतरण गर्ने यसभन्दा अघिका सम्पूर्ण प्रयास विफल भएका थिए । भारतले चार वर्षअघि पठाएको चन्द्रयान–२ अन्तिम समयमा चन्द्रमाको धर्तीमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । रुसले चन्द्रयान–३ भन्दा अघि दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यका साथ पठाएको लुना–२५ पनि ३ दिनअघि मात्र चन्द्रधर्तीमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

१४ जुलाई २०२३ का दिन भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले श्रीहरिकोटास्थित केन्द्रबाट प्रक्षेपण गरिएको चन्द्रयान–३ ४२ दिनको यात्रा पूरा गरेर चन्द्र धरातलमा ओर्लेको हो । उक्त यानले पृथ्वीबाट प्रक्षेपण भएपश्चात् केही दिन पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रभित्रको कक्षमा रही पृथ्वीको कैयन् परिक्रमा गरेको थियो । यो क्रममा इसरोले यानलाई पृथ्वीको सबभन्दा नजिक रहेको कक्ष हुँदै अन्त्यमा ‘डिअर्बिटिङ’ प्रक्रियाअन्तर्गत सबैभन्दा टाढा रहेको पाँचांै कक्षमा पु¥याएको थियो । त्यसपछि यानलाई पृथ्वीको गुरुत्वाकर्षणभन्दा बाहिरको ‘ट्रान्सलुनार ट्राजेक्टरी’मा निर्देशित गरियो । यो भनेको पृथ्वीबाट चन्द्रमा जाने स्वतन्त्र राजमार्ग हो । पाँच दिनको राजमार्ग यात्रापछि यानले चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेर चन्द्रमाको चक्कर लगाउन थाल्यो । यहाँ पनि हतार गरिएन । चन्द्र परिक्रमाको परिधि बिस्तारै घटाउँदै लगियो ।

पृथ्वीको परिक्रमा गर्दा घेरा सानोबाट ठुलो अर्थात् नजिकबाट टाढा गर्ने क्रम रह्यो भने यहाँ चाहिं ठिक उल्टो अर्थात् पाँचांैबाट चौथो र अन्त्यमा ‘प्रिल्यान्डिङ अर्बिट’ भनिने चन्द्रधरातलको सबैभन्दा नजिक परिधिमा पु¥याइयो । ४२ दिनको यो यात्रा क्रममा विभिन्न समयमा यानबाट विभिन्न अंगहरू अलग्याइँदै लगियो । अन्त्यमा ‘प्रिल्यान्डिङ अर्बिट’मा पुगेर त यानलाई बढाउने प्रपल्सन मोड्युललाई पनि अलग्याएर ल्यन्डिङ मोड्युल मात्र ओरालिएको हो । बिक्रम ल्यान्डर भनिने उक्त यन्त्रभित्र प्रज्ञान रोभर भन्ने अर्को यन्त्र छ । ल्यान्डरको सफल अवतरणपश्चात् चन्द्र धरातलको धुलो इत्यादि मत्थर भएपछि लगभग ३ घण्टापश्चात् उक्त छ पांग्र्रे रोभरले यानबाट निस्केर चन्द्र धरातलको अन्वेषण गर्नेछ । उक्त अन्वेषण कार्य आगामी १४ दिन चल्नेछ । हिजो नै चन्द्रमामा सूर्योदय भएको छ र पृथ्वीको १४ दिन चन्द्रमा १ दिन हुने हुँदा आगामी १४ दिनसम्म प्रज्ञान रोभरले सौर्य ऊर्जाको भरमा चन्द्रमाको सतहको अन्वेषण गर्नेछ ।

रूसको लुना–२५ ले सायद यो प्रक्रियामा अलि हतार ग¥यो । पृथ्वीको परिक्रमा गर्ने समयलाई छोट्यायो । चन्द्रयानले पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षणको फाइदा लिँदै बिस्तारै अगाडि बढ्यो भने लुनाले शक्तिशाली रकेटको मद्दतले यात्रा अवधि छोट्यायो । चन्द्रयानभन्दा धेरैपछि प्रक्षेपित भएर पनि २१ अगस्टमै चन्द्र धरातलमा ओर्लिने लक्ष्य लियो । चन्द्र परिक्रमाको परिधि घटाउँदै लैजाने क्रममा डिअर्बिटिङ र डिबुस्टिङ प्रक्रियामा यानको वेग सोचिएभन्दा कम हुन गई अस्वाभाविक कोण लिन पुग्यो र चन्द्र धरातलमा ठोक्किन पुग्यो । सन् २०१९ मा भारतले पठाएको चन्द्रयान–२ ले पनि यस्तै नियति भोगेको थियो ।

अहिलेसम्म अँध्यारोमा रहेको चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा कडा बरफका रूपमा पानीको तत्व र अत्यन्तै बहुमूल्य खनिजसमेत रहेको विश्वास गरिन्छ । साथै त्यो क्षेत्रमा विशालकाय खाल्डाहरू र अजंगका पहाडहरू रहेको अनि जमिन पनि निक्कै उवडखावड रहेको हुँदा यो अवतरण र यसले गर्ने अन्वेषण आफंैमा महत्वपूर्ण बन्न पुगेको हो ।

चन्द्र धरातलबाट ३० किलोमिटर माथिबाट तल झर्दै गरेको १७ मिनेटको समय निक्कै तनावपूर्ण रह्यो । डेढ किलोमिटर प्रति सेकेन्डको गतिलाई अन्तिम समयमा २ मिटर प्रति सेकेन्डमा झार्नु र तेर्सोरूपमा रहेको यानलाई सन्तुलित रूपमा टेकाउन सक्ने बनाउनु वास्तवमा चुनौतीपूर्ण थियो । यो अन्तिम अवतरणको १७÷१८ मिनेटमा यानलाई पृथ्वीको कमाण्ड केन्द्रबाट नियन्त्रण गर्न सम्भव थिएन । ती अन्तिम क्षणमा यानमा जडित आर्टिफिसियल इन्टेलिजेन्समा आधारित प्रणालीले स्वचालित निर्णय लिएको थियो ।

चन्द्रयानको सफल अवतरणको लगत्तै ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिक र देशबासीलाई सम्बोधन गरेका थिए । उनले भने, ‘यो पल विकसित भारतको शंखनादको हो ।’ उनले आगामी दिनमा सूर्यग्रहको अनुसन्धानका लागि आदित्य एल–१ यान पठाइने बताए । शुक्रग्रह पनि भारतको अर्को लक्ष्य रहेको उनले बताए । भारतलाई चन्द्रयानको चन्द्र धरातलको सफल अवतरणका लागि अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासालगायत चारैतिरबाट बधाईको ओइरो लागेको छ र भारतभरि उत्सवको वातावरण बनेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्