सुध्रियो एसईई नतिजा

होस्ट खबर २२ असार २०८०, शुक्रबार
5 Min Read
Aa

काठमाडौँ : गत वर्षको तुलनामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षामा माथिल्लो ग्रेड ९स्तरीकृत अंक० ल्याउने विद्यार्थीको संख्या सुधारोन्मुख रहेको पाइएको छ ।

अघिल्लो वर्ष २०७८ सालको तुलनामा २०७९ को परीक्षामा तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।

अघिल्ला वर्षमा कोभिड–१९ का कारण भौतिक माध्यमबाट पढाइ हुन नसक्दा र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाउँदा नतिजा कमजोर रहेको विश्लेषण गरिएको थियो । तर, अहिले नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ ।

गत १७ चैतदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

बिहीबार प्रकाशित नतिजा अनुसार, २०७९ सालमा लिइएको परीक्षामा जीपीए ३ दशमलव ६० देखि ४ प्राप्त गर्ने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो भनेको ४ दशमलव ६३ प्रतिशत हो । गत वर्ष १ दशमलव ९४ प्रतिशतले मात्र ‘ए’ प्लस ल्याएका थिए ।

अघिल्लो वर्ष २०७८ सालको तुलनामा २०७९ को परीक्षामा तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको छ

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, जीपीए ३ दशमलव २० देखि ३ दशमलव ६० ग्रेड ल्याउने ५५ हजार ६९ जना छन् । यो भनेको ११ दशमलव ३६ प्रतिशत हो । गत वर्ष यो श्रेणीमा ८ दशमलव ४० प्रतिशत उत्तीर्ण भएका थिए ।

जीपीए २ दशमलव ८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । गत वर्ष १४ दशमलव १९ प्रतिशत विद्यार्थी यो श्रेणीमा उत्तीर्ण हुँदा अहिले बढेर १४ दशमलव ९२ प्रतिशत पुगेको छ ।

जीपीए २ दशमलव ४० देखि २ दशमलव ८० सम्म ल्याउनेमा यसपटक ८९ हजार ३ सय ३१ अर्थात् १८ दशमलव ४२ छन् । गत वर्ष १८ दशमलव ३१ प्रतिशत थिए ।

यस्तै, जीपीए २ देखि २ दशमलव ४० सम्म यस वर्ष १ लाख २२ हजार ९३ विद्यार्थी उत्तीर्ण भएका छन् । यो भनेको २१ दशमलव शून्य ९ प्रतिशत हो । गत वर्ष यो श्रेणीमा २३ प्रतिशत उत्तीर्ण भएका थिए ।

जीपीए १ दशमलव ६० देखि २ सम्म प्राप्त गर्ने यस वर्ष ८८ हजार ४ सय ४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी छन् । गत वर्ष २० दशमलव ३० प्रतिशत थिए ।

जीपीए १ दशमलव २० देखि १ दशमलव ६० सम्ममा यस वर्ष ३८ हजार ७ सय ७७ अर्थात् ७ दशमलव ९९ प्रतिशत विद्यार्थी छन् । गत वर्ष ९ प्रतिशत थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार जीपीए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । २०७८ को परीक्षामा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए । यस वर्ष ननग्रेडेड हुनेमा १३ हजार ९ सय ९२ अर्थात् २ दशमलव ८९ प्रतिशत विद्यार्थी छन् ।

बोर्डले अक्षरांकन पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको छ । अक्षरांकन पद्धतिबमोजिम ९० देखि १०० प्रतिशत प्राप्तांक हुनेलाई ‘ए’ प्लस, ८० देखि ९० भन्दा कम अंक प्राप्त गर्नेलाई ‘ए’, ७० देखि ८० भन्दा कम प्राप्तांक हुनेलाई ‘बी’ प्लस भनिन्छ ।

यस्तै, ६० देखि ७० भन्दा कम प्राप्तांक हुनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम प्राप्तांक हुनेलाई ‘सी’ प्लस, ४० देखि ५० भन्दा कम प्राप्तांक हुनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम प्राप्तांक हुनेलाई ‘डी’ प्लस, २० देखि ३० प्राप्तांक हुनेलाई ‘डी’ तथा २० भन्दा कम प्राप्तांक हुनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले एसईईको नतिजा गत वर्षभन्दा सुधार भएको बताए ।

बोर्डले यस वर्षदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेका कारणले नतिजा सुधार आएको उनको भनाइ छ ।

अध्यक्ष शर्माले कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बताए । विगतका वर्षहरूमा विद्यार्थीले कक्षाकोठामा नियमित उपस्थित हुन नपाएको र शिक्षक शिक्षिकासँग भौतिक रूपमा नै परामर्श गर्न नपाएकाले नतिजा कमजोर देखिएको उनको भनाइ छ ।

परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने उनको भनाइ छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गत वर्षभन्दा यस वर्षको नतिजा सकारात्मक रहेको बताए ।

बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्