संकटमा प्रचण्ड, सरकार ढाल्न भित्रभित्रै चलखेल

होस्ट खबर १२ असार २०८०, मंगलवार
8 Min Read
Aa

काठमाडौँ : सरकारले १५ जेठमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरेको बजेट संसदले पारित नगर्दै सरकार फेरबदल हुने सम्भावनाहरू देखापरेका छन् ।

बजेटमा सत्तारुढ दलका नेताहरूले नै सार्वजनिक रूपमै विरोध गरेका छन्, अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले धेरै साना दलको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै दुई ठूला दलको सहभागितामा सरकार बनाउने प्रस्ताव कांग्रेसका नेताहरूसँग गर्दै आएको स्रोतले बताएको छ ।

भुटानी शरणार्थी प्रकरण लगायतमा सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसलाई बदनाम बनाउने काम गरेको र यसले सत्ता हस्तान्तरण हुनेमा अविश्वास बढेको भन्दै एकथरी कांग्रेसका नेताहरू एमालेसँग समीकरणको पक्षमा देखिएका छन् । सो स्रोतका अनुसार कांग्रेस नेताहरूले देउवालाई एमालेसँग मिलेर अहिले नै सरकारको नेतृत्व गर्न सुझाइरहेका छन् ।

त्यसो त, पाँचदलीय गठबन्धनबाट पहिला देउवाले सरकारको नेतृत्व गर्ने, त्यसपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने अडान कांग्रेसले लिएको थियो । तर, एमाले स्वयंले प्रचण्डलाई प्रधानमन्त्रीमा अगाडि सारेपछि कांग्रेस ब्याक हुनुपरेको थियो ।

शरणार्थी प्रकरणमा सरकारले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई छानबिनको दायरामा तानेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट छन् । उनीहरूबीच पछिल्लो समय भेटघाट पातलिएको निकटस्थहरू बताउँछन् । प्रचण्ड र देउवाबीचको खटपट अहिलेको गठबन्धनको भविष्यसँग जोडिएको र दुवै पक्षले आ–आफ्नो तयारी थालेको बताइन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सत्तामा रहेका नेकपा एकीकृत समाजवादी, जनता समाजजादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई समेटेर ४ असारमा ‘समाजवादी मोर्चा’ घोषणा गरेका छन् ।

प्रचण्डका गतिविधिसँग असन्तुष्ट कांग्रेस सभापति देउवाले २८ जेठमा नेपाल आएका भारतीय गुप्तचर संस्था (रअ)का दोस्रो तहका अधिकारीहरूसँग भेटेको स्रोतले बताएको छ । भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई सरकारको नेतृत्व लिने भएमा आफूहरू समर्थन गर्न तयार रहेको भन्ने विषयमा कुराकानी भएको देउवानिकट स्रोतले बतायो ।

यो गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेमा आफूहरू साथ र समर्थन गर्न तयार रहेको भारतीय अधिकारीहरूले बताएपछि यस विषयमा थप कुराकानी गर्न नियमित स्वास्थ्य जाँचको बाहना बनाएर ३० जेठको राति देउवा दम्पत्ति सिंगापुर उडेको स्रोतहरू बताउँछन् ।

देउवा सिंगापुर ३० जेठमा जाने तय भएपछि पत्नी आरजु राणा नेपालबाट भारत गएर भारतीय पक्षलाई सिंगापुरमा भेट्ने वातावरण मिलाएर उतैबाट सिंगापुर पुगेकी थिइन् । नेपालबाट भने देउवा र उनका भतिजासमेत रहेका स्वकीय सचिव भानु देउवा सिंगापुर गएका थिए ।

अर्को रोचक प्रसंग त के छ भने, देउवा सिंगापुर उडेको दुई दिनपछि ३२ जेठमा प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनमा सहभागी हुन भन्दै एमाले महासचिव शंकर पोखरेल अमेरिका उडेका थिए । उनले भर्खर ९ असारमा शनिबार बिहानमात्रै फेसबुकमा केही समय अमेरिका रहने र त्यहाँ रहँदा आफूले प्रयोग गर्ने मोवाइल नम्बर सार्वजनिक गरेका छन् ।

स्रोतका अनुसार पोखरेल पनि सिंगापुर पुगेर कांग्रेस सभापति देउवा र भारतीय अधिकारीहरूको वार्ताबारे कुराकानी गरेका छन् । त्यसमा सत्ता गठबन्धन फेरबदलका विषयमा अनौपचारिक सहमति बनेको बताइन्छ । देउवा ६ असारमा नेपाल फर्कने कार्यतालिका थियो । तर, सिंगापुर बसाइ लम्बाएर ८ असारको राति मात्रै नेपाल ओर्लिए ।

देउवा शुक्रबार साँझ नेपाल ओर्लिनु र एमाले महासचिव पोखरेलले ९ असारको बिहान आफू अमेरिका रहँदा प्रयोग गर्ने नम्बर भन्दै फेसबुकमा सार्वजनिक गर्नु पनि संयोग नहोला । सिंगापुरमा खिँचडी पाक्दा नेपालमा पनि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच गठबन्धन फेर्नेबारे अनौपचारिक कुराकानी भएको स्रोतले बताएको छ ।

अनौपचारिक वार्तामा एमालेका तर्फबाट उपाध्यक्षद्वय विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ तथा उपमहासचिव विष्णु रिमाल सक्रिय रहेको स्रोतहरू बताउँछन् । कांग्रेसका तर्फबाट नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, देउवा निकटका नेता ज्ञानेन्द्रबहादुर कार्की, प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरू सक्रिय छन् ।

कांग्रेसका महामन्त्री थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताउँदै नयाँ केही हुन लागेको संकेत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले गठबन्धन ठीक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको उल्लेख गर्दै नयाँ खिँचडी पाक्न लागेको संकेत गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेससँग सरकार बनाउने तयारी गरिरहेको भनेर नयाँ खिँचडीबारे बोलेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा ओलीले कांग्रेसलाई प्रभावित पारेर कांग्रेसको सरकारलाई साथ दिन चाहेकोमा आपत्ति जनाएका थिए ।

‘केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन् । कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् । उसलाई अघि बढाउन खोजिरहेका छन्,’ नेपालले भने ।

आफूविरुद्ध नयाँ खिँचडी पाक्न लागेको संकेत पाएर प्रधानमन्त्री प्रचण्डले ३१ जेठमा प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूसँग बरु सरकार छोड्ने तर, भ्रष्टाचारीलाई छोड्न सम्झौता नगर्ने बताएका थिए । तर, घटनाक्रम विकसित भएर आफू एक्लिने सम्भावना देखिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मंगलबार असार १२ गते चीन पठाउन लागेका छन् ।

चीनको सिचुवान प्रान्तको छेङ्दुमा हुने ट्रेड इन्भेष्टमेन्ट सम्बन्धी एक्स्पोको विशेष अथिति भएर जान लागेको भनिए पनि हुन लागेको एमाले र कांग्रेसको गठबन्धन रोक्ने अस्त्रका रूपमा पठाउन लागेको स्रोत बताउँछ । श्रेष्ठले आइतबार संसद् भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफ्नो चीन भ्रमण लगानी र ब्यापार प्रवद्धनका लागि हुने बताएर तर्किन खोजे ।

बजेटमा सत्ता गठबन्धनभित्रै असन्तुष्टि
बजेट नै पास नगरेर नैतिकताका आधारमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने वातावरण निर्माण हुने सम्भावना बढ्दै गएको छ । ७ असारमा सत्तारुढ दल जनता समाजवादी पार्टीले पत्रकार सम्मेलन गर्दै यथास्थितिमा संसद्मा प्रस्तुत बजेट पास गर्न नसकिने बताएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरूले प्रतिनिधिसभा बैठक र सार्वजनिक कार्यक्रमहरूमा बजेट यथास्थितिमा पास हुन नसक्ने बताएका छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि बजेटको विपक्षमा देखिएका छन् । जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी विपक्षमा हुँदा बजेट पास गर्न बहुमत पुग्दैन ।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका पनि धेरै सांसदहरू बजेटको विपक्षमा छन् । कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले बजेटबारे असन्तुष्टि व्यक्त गरिरहेका छन् । लेखकले आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले ल्याएको बजेट राम्रो छ भन्ने मान्छे आफूले नभेटेको बताएका छन् ।

‘यो बजेट राम्रो छ भन्ने मान्छे भेट्या छैन । बजेट ठीक भएन भन्ने कुरा उठिरहेका छन्,’ लेखकले भन्ने गरेका छन्, ‘बजेटमाथि आलोचना र विरोधका स्वर धेरै उठेका छन् ।’ माओवादीमा पनि सरकारमा रहेकाहरू मात्रै पक्षमा छन्, सांसदहरू बजेटको विपक्षीमा छन् । यदि, माओवादी र कांग्रेसले बजेट पास गर्न ह्वीप नै जारी गरे पनि बहुमत पुग्दैन ।

कांग्रेसका ८८, माओवादीका ३२, लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसद मात्रै बजेटको पक्षमा छन् । यी सबै जोड्दा १२४ मात्रै पुग्छ । बहुमत पुग्न १३८ मत आवश्यक छ । अझ कांग्रेसकै प्रमुख सचेतक लेखकले बजेटको विरुद्धमा बोलेकाले कांग्रेसले आफ्नै पार्टीका अर्थमन्त्रीले ल्याएको बजेट पास गर्न लाग्छ कि लाग्दैन भन्ने यसै भन्न सक्ने अवस्था छैन ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्