नेपाल–भारतबीचको समस्या समाधानका लागि नयाँ विकल्प

होस्ट खबर २० जेष्ठ २०८०, शनिबार
3 Min Read
Aa

नयाँ दिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ विकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण रूपमा समाधान गरिने बताएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले नयाँ विकल्प सुझाएका छन् ।

शुक्रबार नयाँ दिल्लीमा सञ्चाकर्मीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि विभिन्न विकल्पबारे सोच्ने काम भइरहेको बताए ।

लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका सीमावर्ती क्षेत्रलाई लिएर नेपाल–भारतका बीचमा सीमा समस्या रहेको छ । नेपालले ती समस्याको दीर्घकालीन समाधान गर्दै बंगलादेशसँग सिधा सडक मार्ग व्यवस्थापन गर्न सकिने प्रचण्डको भनाइ छ ।

‘बंगलादेशसँग सिधा जाने बाटो हामीलाई चाहिएको छ भन्ने नेपालमा उहिले देखिको उठिरहेको आवाज पनि हो, हामीलाई चाहिएको कुरा पनि हो । आवश्यकता पनि हो, चाहना पनि हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

तर, सीमा समस्या समाधानका लागि कुन क्षेत्र लिने र कुन क्षेत्रमा कति भूमि लिनेदिने भन्ने’दयगत प्रचण्डले स्पष्ट गरेनन् । यद्यपि कतिपयले केही विवादित भूमि नेपालले छोड्ने र भारतले लिने उता बंगलादेशसम्म नेपाललाई भारतले सडक मार्गका लागि भूमि दिने लिने भन्ने बुझेका छन् ।

चारदिने भारत भ्रमणमा रहेका प्रचण्डले नेपाललाई बंगलादेशसम्मको सिधा सडकसम्बन्धी कुनै व्यवस्थापन वा अन्य विकल्प प्रयोग गरेर सीमा विवाद समाधान गर्न सकिने बताएपछि त्यसलाई सोही रूपमा व्याख्या भइरहेको छ । नेपालको पूर्वी सीमाबाट बंलादेशसम्मको सीमा २७ देखि करिब ४० किलोमिटरसम्मको दूरीमा रहेको छ ।

‘एउटा हो बंगलादेशको मोडेल, बंगलादेश र भारतबीच पनि धेरै वर्षदेखिको समस्या थियो तर उनीहरूले हल गरे,’ प्रधानमन्त्री प्रचण्डले भने । बंगलादेश र भारतबीच सन् २०१५ मा आफूलाई पायक पर्ने क्षेत्रमा पर्ने जमिन साटफेर गरेर सीमा समस्या समाधानको सहमति भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले यसबाहेकका अन्य विकल्पबाट पनि सीमा समस्या हल हुन सक्ने बताए । प्रधानमन्त्री प्रचण्डले सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएकोमा खुसी व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि नेपालको कतिपय ठाउँमा विरोधसमेत भइरहेको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीच ऊर्जा व्यापारको क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको दाबी गरेका छन् । प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र आफूबीच भएको एक्लाएक्लै वार्तापछि महत्वपूर्ण समझदारी जुटेको बताए ।

नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलियम पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि २ देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ । नेपालको विद्युत् बंगलादेशसम्म निर्यात गर्न महत्वपूर्ण सहमति भयो,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० ३ महिनाभित्र बनाउने विषयमा दुई देशबीच सहमति भएको पनि बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरावलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँचचौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array