बजेटमा कर्णाली: हुम्लालाई सडक सञ्जालमा जोड्नेदेखि सुर्खेतमा मेडिकल कलेज खोल्नेसम्म

होस्ट खबर १६ जेष्ठ २०८०, मंगलवार
4 Min Read
Aa

काठमाडौं : संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट संसदमा पेस गरेका हुन् ।

संघीय सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मानव विकास सूचकाङ्कमा पछि परेको कर्णाली प्रदेशलाई प्राथमिकतामा राखिएको बताएका थिए । सोहीअनुसार आगामी बजेटमा कर्णालीको पूर्वाधार विकास र स्वास्थ्य पूर्वाधार प्राथमिकतामा परेको छ ।

अर्थमन्त्री महतले पेस गरेको बजेटमा सुर्खेतमा मेडिकल कलेजको स्थापना गर्ने उल्लेख गरिएको छ । प्रदेश अस्पतालसँग समन्वय गरी सञ्चालन गर्न सकिने गरी उक्त कलेज स्थापनाको पक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाइने महतले बताए । यस्तै, सुर्खेतमै बन्न लागेको प्रादेशिक सरुवा अस्पताल आगामी वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना संघ सरकारले अगाडि सारेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत दैलेखको आठबिस नगरपालिकामा एक सय शय्याको स्याटेलाइट अस्पतालको निर्माण पक्रिया आगामी वर्षबाट सुरु हुने भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गरिने योजना संघीय बजेटमा उल्लेख छ ।

यस्तै, पूर्वाधारतर्फ दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन र अन्वेषणको काम अगाडि बढाइने उल्लेख छ । आगामी आर्थिक वर्षमा रुकुमपश्चिमको चौरजहारी र जुम्ला विमानस्थलको स्तरोन्नति गरिने भएको छ । यात्रु अभावका कारण रुकुमको चौरजहारी विमानस्थल हाल सञ्चालनमा भने छैन ।

राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्लाको सिमीकोटलाई आगामी आर्थिक वर्षमा सडकले जोडिने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले ट्र्याक खोली आगामी वर्ष सडक सञ्जालमा जोडिने बताए । कर्णालीलाई दक्षिण भारतदेखि उत्तरको चीन जोड्ने अन्तरदेशिय रणनीतिक महत्त्वका सडक आयोजना कर्णाली र भेरी कोरिडोरमा झण्डै १ अर्ब ४७ करोड बजेट विनियोजन भएको छ ।

जसअनुसार कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला खण्डका लागि ९७ करोड रकम विनियोजन भएको छ भने भेरी कोरिडोरअन्तर्गत जाजरकोट–दुनै जोड्ने सडकका लागि ५० करोड बजेट विनियोजन भएको छ । भेरीगंगा नगरपालिकामा एकीकृत नमुना बस्ती निर्माणका लागि सम्भाव्यता अध्ययन गरी नमुना शहर निर्माणको कार्य अगाडि बढाइने अर्थमन्त्री महतलले बताए । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय अयोजनाका लागि झण्डै १ अर्ब ७४ करोड बजेट छुट्याइएको छ ।

यस्तै, बाढीपहिरोबाट क्षति भएको कर्णाली राजमार्ग स्तरोन्नति तथा कोहलपुर–सुर्खेत सडक खण्ड स्तरोन्नतिमा बजेटको सुनिश्चितता भएको अर्थमन्त्री महतको भनाइ छ । सुर्खेत उपत्यकामा पानी ल्याउन भेरी लिफ्ट खानेपानी आयोजना अगाडि बढाइने उल्लेख छ ।

आर्थिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेका जुम्लाको चन्दननाथ, दैलेखको पञ्चकोशी र सल्यानको छत्रेश्वरी भगवती माईको विकास गरिने बजेटमा उल्लेख छ । रुकुम, जाजरकोट र डोल्पा जोड्ने पर्यटकीय मार्गको स्थापनाका लागि बजेट सुनिश्चित भएको छ ।

यस्तै, कृषितर्फ जुम्लामा उत्पादित मार्सी र सल्यानमा उत्पादित अदुवालाई ब्रान्डिङ गरिनेछ भने कर्णालीमा उत्पादन हुने नौ प्रकारका रैथाने खाद्य बाली उत्पादनमा जोड दिई खाद्य व्यापार कम्पनीबाट खरिदको व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए ।

सुर्खेतमा विषादी परीक्षण केन्द्र स्थापनाका लागि बजेट विनियोजन भएको छ । यस्तै, कर्णालीमा उत्पादन हुने जडीबुटी प्रशोधन तथा उत्पादन बढाउन वृक्षरोपणलगायतका कार्यक्रम संघ सरकारको बजेटमा समावेश भएको छ । कर्णालीका विभिन्न नदी किनारमा रहेका कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउनका लागि एकीकृत कर्णाली सिँचाइ विकास कार्यक्रममार्फत डिप बोरिङ निर्माण गर्न बजेट विनियोजन भएको छ ।

ऊर्जा क्षेत्रमा डोल्पाको जगदुल्ला हाइड्रोपावर निर्माण अगाडि बढाइनेछ । ४०० केभीए कर्णाली र भेरी कोरिडोर प्रसारण लाइनका लागि बजेट सुनिश्चित भएको अर्थमन्त्री महतले जानकारी दिए । सुर्खेतमा रहेको मौसमी राडारलाई आगामी वर्ष पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ । सामाजिक विकास तथा कर्णाली समृद्धि कार्यक्रमले निरन्तरता पाएको छ । जसका लागि ८७ करोड बजेट विनियोजन भएको छ । शिलापत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array