‘ब्यारेक’मा वाहवाही, ‘ब्यालेट’मा फ्लप !

होस्ट खबर १३ बैशाख २०८०, बुधबार
9 Min Read
Aa

काठमाडौं : तीस वर्षे प्रहरी सेवामा सेलिब्रिटी छवी बनाएका दुई प्रहरीको सांसद बन्ने सपनामा तत्कालका लागि ब्रेक लागेको छ, त्यो पनि दुईदुई पटक । रोचक त के भने दुवै एकै ब्याची प्रहरी र प्रहरी प्रमुखको प्रतिस्पर्धी थिए । पछिल्लो ६ महिनामा दुई पटकसम्म चुनावी मैदानको प्रतिस्पर्धामा सहभागी हुँदा पनि उनीहरू सफल हुन सकेनन् ।

प्रहरीमा रहँदा पत्याए पनि दुई प्रहरीलाई राजनीतिमा साथ दिन चाहेनन् जनताले । सन्दर्भ हो, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रहरी नायव महानिरीक्षक रमेश खरेलको । दुवै निर्वाचनमा टिकट ‘हत्याउन’ सफल भए पनि रिटायर्ड प्रहरी अधिकृतहरु जनमतका हिसाबले पूर्णतः असफल दरिए । प्रतिस्पर्धी समेत बन्ने हैसियत उनीहरुको देखिएन ।

खनाल र खरेल दुवैले उपनिर्वाचनमा नमीठो पराजय खेपेका छन् । त्यतिमात्र होइन, उनीहरु आवद्ध दलले अघिल्ला निर्वाचनमा जति मत ल्याएका थिए, त्यति पनि जोगाउन सकेनन् । यसले ब्यारेकका ‘शेर’हरु चुनावी राजनीतिमा भने ‘ढेर’ हुन सक्छन् भन्ने स्थापित गरेको छ । गत मंसिरमा भएको आम निर्वाचन र बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा दुवै प्रहरी मैदानमा थिए ।

दुवै फरक निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएका थिए । दुवैको सांसद बन्ने महत्त्वकांक्षा । प्रहरी सेवामा सँगै छिरेका खरेल र खनालले जति सङ्गठनमा सफलता चुमे राजनीतिको सुरुवाती यात्रा भने दुवैका लागि प्रत्युत्पादक रह्यो । सर्वेन्द्र खनाल प्रहरी सङ्गठनको प्रमुख नै बने । आफूले नपाएको झोकमा खरेलले डीआइजी पदबाट राजीनामा दिएर राजनीतिक दल खोल्नतिर लागे ।

खनालले भने सेवाबाट निवृत्त भएको एक वर्ष हुन नपाउँदै राजनीतिमा आए नेकपा ९एमाले०सँग जोडिएर । तर, उनको राजनीतिक सुरुवात विवादित बन्यो । सांसद ‘अपहरण’सँग जोडिए खनाल । दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्व मन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा मुछिएका हुन् सर्वेन्द्र ।

एमालेका किसान श्रेष्ठ र महेश बस्नेतसँगै अपहरणको खेलमा भर्खरै अवकाश पाएका खनाल मुछिँदा सिंगो प्रहरी प्रशासनको इमेज धमिलो बन्यो । खनाल त्यसपछि त एमालेबाट खुला राजनीतिमा इन्ट्री भए । गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले काठमाडौं क्षेत्र नम्बर ६ बाट खनाललाई उम्मेदवार बनायो । एमाले, अझ विशेष रुपमा पार्टी अध्यक्ष केपी ओलीले पत्याएका खनाललाई जनताले भने सिधै रिजेक्ट गरिदिए ।

राजनीतिको डेब्यूमै पराजय फेस गर्नुपर्यो उनले । त्यही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले १४ हजार मत ल्याएर जित निकाले । सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए । धन्न उनले नेपाली कांग्रेसका नेता भीमसेनदाश प्रधानलाई जिते दोस्रो हुने दौडमा । तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै त्यहाँ उपनिर्वाचन भयो ।

सबैभन्दा ठूलो राजनीतिक संगठन भएको एमालेका तनहुँमा नेता तथा कार्यकर्ता हुँदाहुँदै पनि पूर्व प्रहरी प्रमुख खनालले टिकेट हत्याए । प्रहरी प्रमुख हुँदा एमाले वा अध्यक्ष केपी शर्मा ओलीलाई विशेष गुण लगाएबापत् हो या सांसद अपहरणमा सक्रिय भूमिका निर्वाह गरेकाले हो, पार्टीले उनलाई नै पत्यायो । एक पटक असफल भइसकेका खनाललाई फेरि टिकट दियो एमालेले । भलै पार्टीमा टिकटको आकांक्षीहरु कैयन थिए ।

जन्मका आधारमा तनहुँ खनालको गृह जिल्ला । त्यसैका आधारमा उनी चुनावी अभियानमा होमिए । दोस्रो पटक पाएको मौकामा पनि खनाल सफल हुन सकेनन् । उनले ८ हजार ४८८ मत ल्याए । पहिलो निर्वाचनमा दोस्रो भएका उनी उप निर्वाचनमा तेस्रो भए । मंसिरमा भएको निर्वाचनमा कांग्रेसका पौडेलले २५ हजार ३१८ मत ल्याएका थिए । दोस्रोमा एमालेका एकबहादुर राना मगरले १९ हजार ९४३ मत ल्याए ।

सर्वेन्द्रले उप निर्वाचनमा आफ्नै पार्टीले पाँच महिना अगाडि पाएको आधामात्र मत पनि ल्याउन सकेनन् । अर्थात् नेता कार्यकर्ता लत्याउँदै फौजीलाई दिएको टिकटबाट आधाभन्दा धेरै मत गुमायो एमालेले । स्वर्णिम वाग्लेले जित निकाल्दा कांग्रेस दोस्रो भयो । कांग्रेसको मत गिरावट एमालेभन्दा कम देखियो । खनाल तनहुँको चुनावमा रणनीतिक रुपमा प्रयोग भए वा एमालेले थप शाख गुमायो, त्यो विश्लेषणको अर्को पाटो हुनसक्छ ।

तर, यति चाहिँ पक्का हो एउटा फौजी चुनावी यात्रामा दोस्रो पटक नमीठोगरी पछारियो । सर्वेन्द्रभन्दा रमेश खरेलको हालत थप कमजोर देखियो । मुलुकभर दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेभन्दा निक्कै बढी मतान्तरले जित निकाल्दा खरेल असफल रहे । घन्टीको रापताप बलियो हुँदा पनि उनी चौथो स्थानका लागि संघर्षरत रहे । देशव्यापी रास्वपाको लहर चलिरहँदा बारा क्षेत्र नम्बर २ पूर्व डीआइजी खरेलको दबङ्ग पहिचान फितलो बन्न पुग्यो ।

घन्टी चिन्हका उम्मेदवार खरेल चौथो हुनु पछिल्लो परिवेशमा अनपेक्षित नै रह्यो । जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव २८ हजार ४१५ मत ल्याउँदै विजयी भए उक्त क्षेत्रमा । दोस्रो बनेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत र नेकपा ९एमाले०का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए । चौथो बनेका खरेलले २ हजार ८२९ मत मात्रै ल्याए ।

प्रहरीमा नेतृत्व लिँदा बारामा रमेशको गजबको क्रेज थियो । निर्वाचनमा न उनको सेलिब्रटी छवि चल्यो । न त रास्वपा को लहर नै । कुनै समय प्रहरीमा ‘सिङ्गम’ छवी बनाएर चलचित्रको नायक झैं ‘आइकन’ भएका खरेललाई मतदाताले भने पत्याएनन् । त्यसो त खनालले जस्तै दोस्रो निर्वाचनमा असफलता आफ्नो खातामा थपेका हुन् खरेलले । गत मंसिरमा काठमाडौं क्षेत्र नम्बर १ बाट खरेलले उम्मेदवारी दिएका थिए ।

सुशासन पार्टीबाट उम्मेदवार बनेका खरेलले त्यतिखेर ३ हजार १२४ मत ल्याए । र, पाँचौं स्थान पाएका थिए । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ७ हजार १४३ मल ल्याएर चौथो पटक संसद्मा इन्ट्री मारे । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पूर्व प्रहरी खरेल उम्मेदवार भए तर फरक पार्टीबाट । यस पटक भने उनले आफैँले जन्माएको पार्टीलाई लत्याए र राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी समाउन पुगे ।

रास्वपाको घन्टीको तरङ्ग नेपाली राजनीतिमा अप्रत्यासित रुपले बजेपछि उनी त्यसतर्फ तानिएका हुन् । त्यसो त गएको मंसिरमा नै खरेलको पार्टी र रवि लामिछानेको रास्वपा मिलेर चुनावमा जाने छलफल नचलेको होइन । दुवै पार्टीले वार्ता समिति नै बनाएर काम गरेका थिए । स्वतन्त्र उम्मेदवार बनेका पुकार बम पनि खरेलजस्तै पछारिए काठमाडौं १ मा । यी दुवै अहिले रास्वपामा छन् ।

उप निर्वाचनमा रमेशले रास्वपाबाट बारा क्षेत्र नम्बर २ मा टिकट हात पारे । जित चाहिँ उनीभन्दा झनै दुर भयो । प्रहरीको एसपी हुँदा तराईका जिल्लामा तस्करीदेखि अपराध नियन्त्रणमा अब्बल ठहरिएका उनलाई त्यहीँका जनताले सांसद भने बनाउन मानेनन् । खनाल र खरेल दुवैको राजनीतिक इन्ट्रीले नेपाल प्रहरी संगठनका नेतृत्वमा पुग्नेहरु राजनीतिक दलका ‘गोटी’ बन्ने त्रास सबैमा थियो ।

दुवैको हारले तत्काल आगामी दिन अवकाशपछि राजनीतिमा जाने चाहना राख्नेलाई एकपटक सोच्न भने बाध्य बनाएको छ । त्यसो त पूर्व प्रहरीको राजनीतिक मोह खनाल र खरेलबाट सुरु भएको भने होइन । महानिरीक्षक नबाएको झोकमा राजीनामा दिएका पूर्व डीआइजी नवराज सिलवाल एमालेको टिकटबाट २०७४ को प्रतिनिधिसभामा विजयी भएर सांसद बने । त्यसैले खरेल र खनाललाई पनि राजनीतिमा ‘तर’ मार्न सकिने आकांक्षा पलायो ।

तर, २०७९ मा सिलवाल, खरेल र खनालजस्तै असफल बन्न पुगे । धेरै पटको प्रयासमा २०७९ को निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी भएर अहिले सांसद बनेका छन् । प्रधान पनि प्रहरी प्रमुख नै थिए । त्यसअघि ओलम्पिक कमिटीको अध्यक्षका रुपमा उनले खेलमार्फत् राजनीतिक पृष्ठभूमि तयार पारेका थिए ।

रुक्मशम्शेर जबरा र प्रधानबिच ओलम्पिक कमिटीको विवाद नेपाली खेलकुद क्षेत्रमा कालो कालका रुपमा लिइन्छ । मिडिया फ्रेन्डली र आफ्नो कामलाई ‘भजाउन’ सक्ने खुवीका कारण खनाल र खरेल चुनावी ब्याटलमा पनि अब्बल ठहरिने अपेक्षामा थिए । तर, उनीहरुको त्यो पहिचानलाई मतदाताले जितमा रुपान्तरण गर्न चाहेनन् । प्रहरी नेतृत्व र जनमत भनेको फरक हो भन्ने स्थापित गरिदिए । र, यसले हाललाई सुरक्षा निकायबाट अवकाश पाएसँगै राजनीतिक ‘लट्री’को अपेक्षा गर्नेहरुलाई पनि सवक सिकाएको छ । पहिलोपोष्टबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array