काठमाडौं : वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउन भन्दै नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
वित्तीय प्रणाली प्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यसको महत्त्व रहेको भन्दै मार्गदर्शन ल्याइएको हो । वित्तीय स्थायित्वको आधारशिला वित्तीय साक्षरता भएको तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैङ्कले वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउन मार्गदर्शन ल्याइएको हो ।
वित्तीय साक्षरताको अभियानमा राष्ट्र बैङ्कका साथै इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको समेत भूमिका वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी बैङ्कले वित्तीय साक्षरता अभिवृद्धि गर्न समयसमयमा विभिन्न निर्देशन जारी गर्दै आइरहेको छ ।
यद्यपि विभिन्न संस्थाका छरिएका कार्यक्रमबाट वित्तीय साक्षरता प्रवद्र्धन अभियानले अपेक्षित गति लिन नसकेको हुँदा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र समन्वयात्मक ढङ्गले एकीकृत रूपमा अघि बढाउन वित्तीय साक्षरता ढाँचा २०७९ जारी भएको सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले यो वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।
मार्गदर्शनका अनुसार बैङ्क तथा वित्तीय संस्थाले अब वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत युवालक्षित कार्यक्रम र डिजिटल बैङ्किङ सेवा पनि समावेश गर्नुपर्ने भएको छ । मार्गदर्शनमा बैङ्क तथा वित्तीय संस्थाले वित्तीय सेवामा युवालक्षित कार्यक्रम र विद्युतीय वित्तीय सेवा पनि समावेश गर्न पाउने व्यवस्था गरिएको हो ।
मार्गदर्शनको उद्देश्यमा लक्षित वर्गकेन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्ने तथा वित्तीय साक्षरता कार्यक्रमको अनुगमनका लागि आधार निर्माण गर्ने रहेको छ ।
बैङ्किङ पहुँचदेखि वित्तीय साक्षरतामा सरकार र नियामक निकायले समेत अभियान चलाइरहँदा सुदूरपश्चिम प्रदेश बझाङको साइपाल गाउँपालिकाका स्थानीय बासिन्दा भने बैङ्किङ सेवा उपभोगका लागि तीन दिन हिँडेर सदरमु्काम पुग्नुपर्छ ।
वाणिज्य बैङ्क र तिनका शाखा सञ्जालको देशभर बढोत्तरी भइरहँदा यो क्षेत्रका स्थानीयका हकमा बैङ्किङ सेवा आकाशको फलजस्तै बनेको छ ।
सो क्षेत्रका बासिन्दा अहिले पनि बैङ्किङ सेवा उपभोगका लागि तीन दिन लगाएर सदरमुकाम पुग्छन् । बैङ्किङ सेवाकै लागि गाउँपालिकाको सम्पर्क कार्यालयसमेत सदरमुकाममा खोल्नु परेको बाध्यता साइपाल गाउँपालिकाको छ ।
यतिबेला ७५३ पालिकामध्ये ७५२ पालिकामा विभिन्न वाणिज्य बैङ्कका शाखा खुलिसकेका छन् । गोरखापत्र दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्