मुखैमा आएको सत्ता फुत्किने गरी कसले उचाल्यो देउवालाई ?

होस्ट खबर ११ पुष २०७९, सोमबार
6 Min Read
Aa

काठमाडौं : आइतवार बिहानसम्म सारा राजनीतिक सम्भावनाको सम्मुखमा रहेको कांग्रेस मध्याह्नसम्म पुग्दा शून्यमा झर्‍यो । सबै सम्भावनाहरू एकाएक असम्भव बनिदियो । केन्द्रदेखि प्रदेशसम्मको सत्ता सम्भावना एकाएक टर्‍यो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ वर्षे कार्यकालको पहिलो आधा कार्यकाल प्रधानमन्त्री मागेका थिए । प्रचण्डको प्रस्ताव कांग्रेसले इन्कार गरेपछि कांग्रेसको हातबाट तत्कालका लागि सबै सम्भावनाहरू फुत्कियो ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री आफैले पाउनुपर्ने भन्दै बटमलाइन बनायो । जुन प्रचण्डले स्वीकार गरेनन् । बालुवाटारको वार्तालाई सविस्तार सुनाउँदै एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने, ‘शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको बचन दिनुभएको रहेछ । आज उहाँले आफ्नै प्रतिबद्धताबाट पछि हट्नुभयो र अहिलेको अवस्था आयो ।’

खनालले सुनाएअनुसार, आजको बैठकमा देउवाले आफूलाई पहिलो कार्यकालमा प्रधानमन्त्रीको बचन दिएको प्रचण्डले सुनाएका थिए । माधव नेपाल र झलनाथ खनालले देउवालाई तपाईंले त्यस्तो बचन दिनुभएको हो रु भनेर सोधेका थिए । देउवाले बचन दिएको तर, अहिले पार्टीका साथीहरूका कारण आफैँ प्रधानमन्त्री बन्नुपर्ने अवस्था आएको जवाफ बैठकमा सुनाएका थिए ।

त्यसपछि, प्रचण्डले ‘तपाईं आफ्नो बचनमा प्रतिबद्ध हुनुहुन्न भने आगामी दिनका लागि कसरी विश्वास गर्ने रु तपाईंलाई विश्वास गर्न सकिएन’ भनेका थिए । माधव नेपाल र झलनाथ खनालले पनि देउवालाई सम्झाउने प्रयास गरे । तर, देउवाले पार्टीका साथीहरूको कारण देखाए ।

अन्ततः प्रचण्डले आफूलाई देउवाबाट धोका भएको भन्दै गठबन्धनको औचित्य सकिएको भनेर बालुवाटारबाट बाहिरिए र खुमलटार हुँदै बालकोट पुगे । बालकोटबाट प्रधानमन्त्री हुन १६९ सांसदको बल लिएर राष्ट्रपतिले दिएकै समयमा शितलनिवास पुगे र प्रधानमन्त्री नियुक्तिको पत्र लिए ।

प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि कांग्रेस नेताहरूमा छटपटाहट शुरू भयो । कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मलिन अनुहार लिएर पत्रकार समक्ष आए र गठबन्धनको औचित्य बाँकी रहेको बिलौना सुनाए । फेरि गठबन्धनको बैठक बस्ने दाबी गर्दै खाना खान उनी बालुवाटारबाट बाहिरिए ।

प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर दुई दल मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए । तर, ओलीले स्पष्ट जवाफ दिएनन् । उनी प्रचण्डको पर्खाइमा थिए ।

प्रचण्ड बालकोट पुगेर सत्ता समीकरणको सहमतिमा हस्ताक्षर गर्दै–गर्दा बालुवाटारमा चार दलको बैठक बस्यो । प्रचण्डलाई सर्वसम्मत रोजेको राजनीतिक पद दिने सहमति बन्यो र प्रचण्डलाई तारन्तार फोन गरियो । तर, त्यो समय ढिलो भइसकेको थियो ।

केपी शर्मा ओली निवासमा भएको बैठकमा सहभागी एमाले उपमहासचिव विष्णु रिमालका अनुसार, प्रचण्डलाई प्रधानमन्त्री बनाउने भन्दै कांग्रेसका नेताले तारन्तार फोन गरेका थिए । तर, प्रचण्डले ढिलो भएको जवाफ फर्काएका थिए ।

किन होल्ड भए देउवा ?

प्रचण्डले गत शनिवार नै देउवालाई एक्लै भेटेर प्रधानमन्त्री दाबी गरेका थिए । त्यसबेला देउवाले संसदीय दलको नेता चुनिएपछि मात्रै छलफल गर्ने जवाफ दिएका थिए । तर, प्रचण्डले आफ्नो दाबी छाडेनन् ।

प्रचण्डलाई प्रधानमन्त्री नदिँदा गठबन्धन भत्किन्छ भन्ने देउवाले नबुझेका होइनन् । तर, अहिलेको अवस्था सिर्जना हुनुमा कांग्रेसमा मुख्य ४ नेताको भूमिका रहेको देउवानिकट एक नेताले जानकारी दिए ।

विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र आरजू राणाका कारण सत्ताको पासा पल्टियो । कांग्रेसको डुङ्गा चुलुम्मै डुब्यो । ‘यी ४ जना नेताहरूले प्रचण्डलाई होल्ड गरे । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै लिनुपर्छ र त्यो लिन सकिन्छ भनेर देउवालाई उक्साइरहे’, ती नेताले भने ।

विमलेन्द्र निधिले भारतीय सहयोग रहनेभन्दै देउवालाई अडानमा अडिन दबाब दिइरहेका थिए । प्रकाशशरण महतले भने एमालेसँग कुरा भएको र माओवादीले धोका दिए कांग्रेस–एमालेको समीकरणमा सरकार बनाउन सकिने भन्दै देउवालाई आश्वस्त पारेका थिए । देउवा प्रधानमन्त्री हुँदा आफूले रोजेको मन्त्रालयसहित सरकारमा रहन पाइने लोभमा महत रहेको ती नेताले बताए ।

उता सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकार बनाउने समय थप्न लगाउने भनेर प्रधानमन्त्री र राष्ट्रपतिको दाबी नछाड्न भनेको कांग्रेसका एक नेताले सुनाए । राष्ट्रपति भण्डारी र ज्ञानेन्द्र कार्कीको नातेदारी सम्बन्ध छ । राष्ट्रपति भण्डारीकी बुबा रामबहादुर पाण्डे ज्ञानेन्द्रबहादुर कार्कीका साख्खे मामा हुन् । भण्डारी र कार्कीबीच दाजु–बहिनीको सम्बन्ध छ ।

प्रधानमन्त्री पत्नी डा. आरजु राणाले भने कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएर देउवा नै प्रधानमन्त्री हुनुपर्छ भनेर रोइलो गर्न लगाएकी थिइन् । यी सबै कारणले देउवालेको पदीय महत्वकांक्षा बढ्दै गयो ।

कांग्रेसका एक नेताले भने, ‘पूर्णबहादुर, रामचन्द्र र बालकृष्णहरू मिलाउन नै लागेका थिए । बालकृष्ण चुनाव हारेको भएर पनि होला देउवाले खासै कुरा सुनेनन् । पूर्णबहादुर र रामचन्द्रमाथि अरू ४ जना बढी हाबी भए ।’

प्रचण्ड गठबन्धन छाडेर बाहिरिएपछि देउवासहित कांग्रेसका नेताहरू छलफलमा बसेका थिए । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का र प्रकाशशरण महतबीच झण्डै कुटाकुटकोस्थिति बनेको ती नेताले सुनाए ।

‘पूर्णबहादुरले प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्थ्यो, गल्ती भयो भने । तर, प्रकाशशरणले माओवादीलाई किन प्रधानमन्त्री दिने भन्दै झोक्किए । त्यसपछि तनावपूर्ण स्थिति बन्यो । झण्डै हात हालाहालको अवस्था बन्यो’, ती नेताले बताए ।

बालुवाटारमा कांग्रेसका नेताहरूको तनावपूर्ण बैठकपछि शेरबहादुर देउवा अन्ततः प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भए । त्यसपछि प्रचण्डलाई फोन गरियो, त्यसबेला उनी केपी ओली निवास बालकोटमा सत्ता समीकरणको हिसाब मिलाउने अन्तिम क्षणमा थिए ।

बालुवाटारबाट आएको फोन उनले बैठकमा रहेका नेताहरूलाई पनि देखाए । केहीबेर फोन उठाएनन् । तारन्तार फोन आइरहेपछि प्रचण्डले जवाफ दिए, ‘अहिलेलाई ढिलो भयो । अवसर मिल्यो भने फेरि सहकार्य गरौँला ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्