फिफा विश्वकप फाइनल २०२२ को विजेता अर्जेन्टिना (तस्विरसहित)

होस्ट खबर ४ पुष २०७९, सोमबार
4 Min Read
Aa

काठमाडौं : फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितको छ। अर्जेन्टिनाले फ्रान्सलाई टाई ब्रेकरमा ४–२ ले पराजित गरेको हो। निर्धारित समय र अतिरिक्त समयमा ३–३ को रोमाञ्चक बराबरीमा पुगेका दुवै टिमले पेनाल्टी पाएका थिए। १२० मिनेटको खेल बराबरी गोलमा टुङ्गिए पनि पेनाल्टीमा भने अर्जेन्टिनाले बाजी मार्‍यो।

अर्जेन्टिनाको यो जित ३६ वर्षपछिको विश्वकप फुटबलको उपाधि हो। नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो।

सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो उपाधि भित्र्याउन भने असफल भएको थियो।

सन् २०१८ मा प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना विश्वकप यात्राबाट बाहिरिएको थियो। त्यसको चार वर्षपछि अर्जेन्टिनाले साविक विजेता फ्रान्ससँग बदला लिएको छ।

अवार्डमा अर्जेन्टिनी खेलाडीको वर्चश्व

विश्वकप २०२२ को व्यक्तिगत विधामा अर्जेन्टिनी खेलाडीको वर्चश्व रहेको छ। खेलमा अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका मेस्सीले गोल्डेन बल जिते। उनले प्रतियोगितामा सात खेल खेल्दा सात गोल गरेका थिए भने तीन गोलका लागि सहयोग गरेका थिए।

 

यसअघि सन् २०१४ को विश्वकपमा पनि यो पुरस्कारबाट मेस्सी सम्मानित भएका थिए। सन् १९८२ बाट विश्वकपमा यो अवार्ड दिन थालेयता दुई पटक यो पुरस्कार जित्ने मेस्सी पहिलो खेलाडी हुन्।

यता प्रतियोगिताको सर्वाधिक गोलकर्ता केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन्। उनले सात खेलमा ८ गोल र दुई असिस्ट गरेका थिए। २३ वर्षीय एम्बाप्पेले फाइनलमा ह्याट्रिक गरेर खेललाई बराबरीमा ल्याएपनि उनको टिम पेनाल्टी सुटआउटमा हारेको थियो।

यद्यपि, उनी विश्वकपको फाइनल खेलमा समग्रमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन्। सन् २०१८ मा फ्रान्सले क्रोएसियालाई हराउँदै विश्वकप जित्दा एम्बाप्पेले एक गोल गरेका थिए।

यस्तै अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ जितेका छन्। कतार विश्वकपमा उनले तीन क्लिन सिट राखेका थिए भने दोहामा सबै खेलका सबै मिनेट खेलेका उनले फाइनलमा भएको पेनाल्टी सुटआउटमा किंग्सले कोमनको प्रहार रोकेका थिए।

मोरक्कोका यासिन बोनोउ तथा इंग्ल्याण्डका जोडर्न पिकफर्डले पनि समान तीन खेलमा क्लिन सिट राखेपनि क्रमशः सेमिफाइनल र क्वाटरफाइनलबाटै बाहिरिएका थिए।

यस्तै, अर्जेन्टिनाकै इन्जो फर्नान्डेज प्रतियोगिताका उदयीमान खेलाडी चुनिएका छन्। उनले समूह चरणमा मेक्सिकोविरुद्ध गोल गरेका थिए। फिफा फेयर प्ले अवार्ड इंग्ल्यान्डले जितेको छ।

दोहामा परेड

अर्जेन्टिनाले कतारको दोहामा भिक्ट्री परेड गरेको छ। फ्रान्समाथि जित हात पारेको केही घन्टापछि दक्षिण अमेरिकी टोलीले ओपन टप बसमा भिक्ट्री परेड गर्दै खुशीयाली मनाएको हो।

स्टेडियम बाहिर रहेका समथर्कले च्याम्पियन टोलीका सदस्यलाई हात हल्लाउदै साथ दिएका थिए।​ अर्जेन्टिना सन् २००२ मा ब्राजिलपछि विश्वकप उपाधि जित्ने पहिलो दक्षिण अमेरिकी राष्ट्र हो। टोली आज बेलुका स्वदेश फर्कने छ। ३६ वर्षपछि विश्वकप ट्रफी ब्युनो आयर्स फर्काएको टिमको भब्य स्वागतका लागि अर्जेन्टिनीहरु तयारी अवस्थामा रहेका छन्।

२३ औँ संस्करण तीन देशमा

विश्वकपको २३ औँ संस्करण अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ। तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप गर्न लागेको यो पहिलो पटक हो।

अर्को विश्वकप तीन वर्ष ६ महिना पछि अर्थात सन २०२६ मा हुनेछ। यो विश्वकपमार्फत सहभागी टिमको संख्या ३२ बाट ४८ पुग्नेछ।

प्रतियोगिता सुरु हुने मिति भने निश्चित भइसकेको छैन। तर नियमित तालिका जुन, जुलाइमा नै विश्वकप फर्कने बताइएको छ। नोभेम्बर, डिसेम्बरमा विश्वकप सञ्चालन भएको यो पहिलो पटक हो। कतारको गर्मीलाई छल्न फिफाले समय परिवर्तन गरेको थियो।

मेक्सिकोले यसअघि सन् १९७० र १९८६ मा विश्वकप सञ्चालन गरिसकेको छ। सन् २०२६ मा मेक्सिको आयोजक र सह आयोजकका रुपमा तीन विश्वकप गर्ने पहिलो देश बन्नेछ।

यस्तै सन् १९९४ को विश्वकप अमेरिकामा भएको थियो। क्यानडाले भने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ। २०२६ मा सबैभन्दा बढी ६० खेल अमेरिकामा हुनेछ। मेक्सिको र क्यानडामा दश–दश खेल खेलाइने छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array