शीर्ष नेताहरू को-कहाँबाट उम्मेदवार ?

होस्ट खबर २४ आश्विन २०७९, सोमबार
5 Min Read
Aa

काठमाडौं : आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आइतबार हर्षोल्लासका साथ मनोनयन दर्ता गराए ।

सत्ता गठबन्धनले आइतबार बिहानसम्ममा टिकटको टुंगो लगाएको थियो भने एमाले सहितको गठान्धनले भने शानिबार नै सबै क्षेत्रको टिकट मिलाइसकेर नेताहरूलाई सम्बन्धित निर्वाचन क्षेत्र पठाइसकेको थियो । यस पटकको निर्वाचनमा सत्ता र प्रतिपक्ष दल छुट्टाछुट्टै गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यो निर्वाचनमा २०४८ सालदेखि निरन्तर चुनाव लडिरहेकादेखि पहिलोपटक चुनावमा भाग लिएका नेताहरू समेतको प्रतिस्पर्धा हुने भएको छ ।

कतिपय पूर्व प्रशासक, पूर्वप्रहरीदेखि स्वतन्त्र उम्मेदवारहरू समेत चुनावी मैदानमा छन् । २०४८ साल देखि निरन्तर चुनाव लडेका नेताहरू सातौँपटक पुग्दासमेत अझै चुनाव लड्न छाडेका छैनन् ।

शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। दुईपटक पार्टी सभापति र पाँचपटक प्रधानमन्त्री भइसक्नुभएका देउवा सातौंपटक चुनावी मैदानमा छन्।

२०४८ सालयता डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका उहाँ २०७४ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएका थिए ।

२०७२ यता देउवा निरन्तर नेपाली कांग्रेस सभापति रहदै आएका छन्। यस पटकको निर्वाचनमा देउवा आफैँले कार्यकर्ता बनाएर राजनीति सिकाएका नेपाली कांग्रेस बिपीको तर्फबाट उम्मेदवारी दिएका कर्ण मल्लसँगै प्रतिस्पर्धामा छन् । मल्ललाई एमालेले समर्थन गरेको छ ।

केपी शर्मा ओली

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । ओली आफैँ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन्।

२०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधि र २०५६ सालको आम निर्वाचनमा ओली झापा निर्वाचन क्षेत्र नम्बर– ६ बाट निर्वाचित भएका थिए । २०७० सालमा झापा–७ बाट संविधानसभा सदस्य र २०७४ मा सोही क्षेत्रबाट सांसदमा निर्वाचित रहेका उनी दुई पटक प्रधानमन्त्री भइसकेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावकमा डा भट्टराई र समर्थकमा श्रेष्ठ रहेका छन् । २०६४ यता निरन्तर संसदमा प्रतिनिधित्व गरिरहेका प्रचण्ड २०६५ सालमा प्रधानमन्त्री बनेका थिए। २०६४ साल यताका तीनवटा निर्वाचनमा काठमाडौं, सिरहा र चितवनबाट संसद्मा प्रतिनिधित्व गरेका प्रचण्ड २०५७ सालदेखि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा छन् ।

माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट क्षेत्र नम्बर– १ बाट उम्मेदवारी दर्ता गराएका छन्। रौतहटको सदरमुकाम गौरमा पुगेर उम्मेदवारी दर्ता गराएका पूर्वप्रधानमन्त्री नेपाल पनि दशकौं अघिदेखि निरन्तर संसद्मा रहदै आएका छन् । उनलाई गठबन्धनका दलहरूको सहयोग रहेको छ ।

रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

शेखर कोइराला

मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मनोनयन दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनीसँग एमालेबाट प्रतिनिधिसभातर्फ लालबाबु पण्डितले मनोनयन दर्ता गराएका छन् । २०७४ सालको निर्वाचनमा कोइराला लालबाबुसँगै पराजित भएका थिए। त्यसबेला एमाले माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर– २ बाट उम्मेदवारी दिएका छन् । एमालेसँगको गठबन्धन गरेका यादव २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०६४ र २०७० सालको संविधानसभामा निर्वाचनमा भने उनी सुनसरी ५ बाट निर्वाचित भएका थिए ।

ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं–५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। २०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौं–५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०५४ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित पोखरेल २०५६मा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं– ४ बाट उम्मेदवार दर्ता गराएका छन् । थापा यसै क्षेत्रबाट २०७० र २०७४ मा निर्वाचित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी समानुपातिक सांसद रहेका थिए। उनीसँग नेकपा एमालेका नेता राजन भट्टराईले प्रतिस्पर्धामा रहेका छन् ।

विश्वप्रकाश शर्मा

अघिल्लो निर्वाचन झापा क्षेत्र नं।–१ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक पनि सोही क्षेत्र बाट मनोनयन दर्ता गराएका छन्। यो क्षेत्रमा नेकपा एमालेले अग्नि खरेललाई अघि सारेको छ । अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array