आज बिजया दशमी: असत्य माथि सत्यको जीत, अधर्मि माथि धर्मको जीत

होस्ट खबर १९ आश्विन २०७९, बुधबार
4 Min Read
Aa

सुर्खेत : बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुधपूजा आदि नामले पनि चिनिन्छ ।

आश्विन शुक्ल घटस्थापनापछि सुरु र सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी देखि पूर्णिमा सम्म लगातार मनाइने महापर्व हो दशैं । त्यसैले पनि दशैंलाई नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाडका रुपमा लिइन्छ । दशैंलाई धार्मिक परम्परा मात्र नभएर सामाजिक सदुभावको पर्वका रुपमा समेत लिइन्छ ।

त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा पनि यस चाडलाई मनाइने परम्परा छ । श्रीरामले दशैंको दिनमा रावणमाथि विजय हाँसिल गरेकाले परम्परागत दशैंसँगै रावणमाथि विजय हाँसिल जोडिएको संस्कृतिविद् तेजेश्वर बाबु ग्वंग बताउँछन् । दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन्छ । त्यसैले पनि असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । दशैं जीतहरुको खुसीयाली र उत्साहको संग्रह भएको पनि संस्कृतिविद्हरुको दावी छ ।

दशैंलाई भगवान रामको विजय उत्सवको रुपमा वा दुर्गा भवानीले असुरहरुको बध गरेको उपलक्ष्यमा मनाए पनि दशैं शक्ति पूजनको पर्व हो । नेपाली संस्कृति र वीरताको पूजक अनि शौर्यको उपासकका रुपमा मनाइने दशैं अलिखित इतिहासको दस्तावेजका रुपमा लिनुपर्ने संस्कृतिविद्हरुको भनाई छ ।

बडादसैँको पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देश विदेश वा टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ । दशैंमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका राख्दछ । टाढा टाढा पुगेका सबै परिवार एकैस्थानमा भेला भएर मनाइने पर्व भएकाले पनि दशैंलाई पारिवारिक जमघटको पर्वका रुपमा पनि लिइन्छ ।

नवरथाको दशौं दिननै विजयादशमी हो । आश्विन शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुmिभन्छ । यो दशैंको खास दिन हो । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । यस दिन घर घरमा सबैभन्दा पाको र मुख्य व्यक्तिले सोह्र सामाग्री सहित भगवती दुर्गा र अरु देवी तथा देवताको पूजा गरिन्छ । नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आह्वान गरिन्छ । सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइन्छ । आरती र पुष्पाञ्जलि सहित पूजा सकिएपछि वर्षभरि कसैले आफुमाथी आफूमाथि दमन गर्न सक्दैन र गरिहाले विजय प्राप्ती गर्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

चन्दन, अक्षता, फूल छर्कँदै माफी दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरिन्छ । यस वर्ष देवि विर्सजनको साइत १० बजेर ११ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । देवी विसर्जन पछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । त्यसपछि घरका सबैभन्दा जेष्ठ वा मूलीले नव दुर्गा भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशिर्वाद दिने गरिन्छ । यसपालीको बडादशैंको टीकाको उत्तम साइत १९ असोज बुधबार विहान ११ बजेर ५१ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घरको टिका लागाईसकेपछि मान्यवरकहाँ नयाँ नयाँ लुगा र गर गहना लगाई टीका लगाउन जाने प्रचलन छ । यस दिन पिङ खेल्यो वा भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने पारम्परिक मान्यता समेत रहेको छ । दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेको संस्कृतिविद्हरुको भनाई छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array