सुर्खेतमा चार्जिङ स्टेसन निर्माण गरिँदै

होस्ट खबर ३० भाद्र २०७९, बिहीबार
3 Min Read
Aa

सुर्खेत : विद्युतीय सवारी चार्जका लागि सुर्खेतमा चार्जिङ स्टेसन निर्माण थालिएको छ। नेपाल विद्युत प्राधिकरणले वीरेन्द्रनगर नगरपालिकास्थित बसपार्क क्षेत्रमा चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो । यो कर्णाली प्रदेशको पहिलो चार्जिङ स्टेसन हुनेछ ।

नेपालभर ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य छ । सोहीअनुसार सुर्खेतमा पनि दुई वटा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी भोलानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार एउटा चार्जिङ स्टेशनमा ठूला बससहित तीनवटा सवारी साधनले एक साथ चार्ज गर्न सकिन्छ । प्रत्येक चार्जिङ स्टेनमा १ सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिनेछ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०र६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरसमेत राखिने शर्माले जनाए ।

विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सबै प्रदेशमा चार्जिङ स्टेसन निर्माण कार्य भइरहेको शर्माले जानकारी दिए । सबै प्रदेशका मुख्य राजमार्ग, बसपार्कलगायतका स्थानमा चार्जिङ स्टेसन निर्माण सुरु गरिएको छ । कारहरूमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा लागत बराबर प्रतिकिलोमिटर विद्युत खपत हुन्छ ।

चार्जिङ स्टेसनमार्फत चार्ज गर्दा सवारी साधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा पूर्ण चार्ज हुने शर्माले जनाए । उनले भने, “आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत् वातावरणमैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो ।”

चार्जिङ स्टेसनमा सफ्टवेयर राखिने र सबैको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न जनाइएको छ ।

यस्तै कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रदेशमा चार्जिङ स्टेसन निर्माणका लागि सम्भाव्यता अध्ययन तयारी थालेको छ । सुर्खेत, दैलेख र सल्यानमा चार्जिङ स्टेसन निर्माणका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको हो ।

मन्त्रालयको योजना महाशाखाका इन्जिनियर प्रेमबहादुर वलीका अनुसार चार्जिङ स्टेसनको सम्भाव्यता अध्ययनका लागि चालू आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसबाट कर्णालीका कुन कुन स्थानमा चार्जिङ स्टेसन निर्माण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन हुनेछ । सम्भाव्यता अध्ययनको नतिजा अनुरुप चार्जिङ स्टेसन निर्माण गरिने प्रदेश सरकारको योजना छ ।

कर्णालीमा वर्षेनी सवारी साधनको चाप बढिरहेको छ । यसले इन्धन खपत पनि बढाएको छ । विद्युतीय सवारीसाधनमा आकर्षण तथा पेट्रोलियम पदार्थको परनिर्भरता न्यूनीकरण गर्न चार्जिङ स्टेसन निर्माण कार्य महत्वपूर्ण हुनेछ । कारोबार दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array