भेरी–बबई आयोजना ३ बर्षमा सम्पन्न हुने (भिडियो)

होस्ट खबर ६ भाद्र २०७९, सोमबार
4 Min Read
Aa

सुर्खेत : देशकै गौरबको आयोजनाका रुपमा लिइएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्पन्न हुन ३ वर्ष लाग्ने भएको छ ।
कोरोना महामारीपछि कामले तिब्रता लिएको र सम्झौता गर्नुपर्ने सवै कार्यहरु पुरा भएकाले अव निर्माण सम्पन्न गर्न ३ बर्ष लाग्ने आयोजनाका निर्देशक हरिनारायण यादवले बताएका हुन् ।

सेवा निवृत्तको तयारीमा रहँदै गरेको जानकारी होष्ट खवरलाई दिंदै निर्देशक यादवले हाइड्रो मेकानिकलको कामलाई अगाडी बढाएको र ती सवै बाँकी कामको टेन्डर प्रकृयालाई अगाडी बढाई इलेक्ट्रो मेकानिकल इन्जिनियरिङ्गको काम पनि शुरु गरिसकेको हुँदा ३ बर्षमा कार्य सम्पन्न गर्ने दाबी गरे । सुरुङ निर्माण समयमैं सम्पन्न भई कोरोना महामारीका कारण आयोजनाको काममा ढिलाई भएको थियो ।
चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले आयोजना कार्यालयलाई गत २०७७ भदौ १७ गते सुरुङ हस्तान्तरण गरिसकेको थियो । कम्पनीले नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माण गरेको हो । भेरीगंगा नगरपालिकाको बबईदेखि चिप्लेसम्म १२.२ किलोमिटर लामो सुरुङ खनिएको छ । सुरुङ निर्माणका लागि १० अर्ब ५७ करोड रुपैयाँमा सम्झौता भए पनि ९ अर्ब ८८ करोड रुपैयाँ कम्पनीलाई भुक्तानी दिइएको सिँचाइ विभागले जनाएको छ ।

सुरुङपछि बिजुली उत्पादनका कामभित्र पर्ने टर्बाइन, जेनेरेटर लगायतका काम पनि शुरुवात गरेको निर्देशक यादवले बताए । इलेक्ट्रो मेकानिकलको सम्झौता अनुसार ३ बर्ष म्याद रहेको उल्लेख गर्दै उनले भने, ‘यहाँ ३ बर्ष पछि सम्झौता अनुसार बिजुलीबत्ती बल्ने र बाँके तथा बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुग्छ ।’

संख्यात्मक रुपमा भन्नुपर्दा बार्षिक देशलाई ३ अर्ब १० करोड रुपैयाँ सिँचाईबाट फाइदा पुग्ने निर्देशक यादवले बताए । आफुँ सेवा निवृत्त हुनै लागेको अवस्थामा यो जानकारी यहाँका जनतालाई दिन पाउँदा खुशी लागेको उल्लेख गर्दै निर्देशक यादवले आयोजनाबाट थप ४६ दशमलव ८ मेगाहर्ज विद्युत समेत उत्पादन हुने बताए । ‘दुबै योजनाबाट देशलाई बार्षिक ७ अर्ब १३ करोड फाइदा पुग्छ’, होष्ट खवरले राखेको जिज्ञासामा उनले थपे, ‘नयाँ स्किम अनुसार १५ हजार हेक्टर जमिनलाई पुग्ने गरी मानखोलामा सुरुङबाट पानी खसालेर थप सिँचाईको प्रवन्ध मिलाइन्छ ।’ यसका साथै कोहलपुर र नेपालगञ्जमा खानेपानीको लागी व्यवस्था मिलाउन अध्ययन भइरहेको उनले बताए ।

आयोजनाका बारेमा कुराकानी गर्दै सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भर्खरै हाइड्रो र इलेक्ट्रोनिक इन्जिनियरिङ्गका कामहरु सम्पन्न गर्न सम्झौता भएकाले आयोजना सम्पन्न गर्न ३ बर्ष लाग्ने बताए । सिभिल इन्जिनियरिङ्गका कामहरु अहिले पनि दु्रत गतिमा भइरहेको उल्लेख गर्दै सूचना अधिकारी सुवेदीले सम्झौता गरे अनुसारका कामहरु समयमैं सक्नका लागि अब ३ बर्ष लाग्ने बताएका हुन् ।

दोस्रो चरणअन्तर्गत अहिले चिप्लेमा बाँध निर्माणको काम जारी छ । जसअनुसार कामदारका लागि क्याम्प, निर्माण सामग्री उत्पादनका लागि आवश्यक प्लान्ट, प्रयोगशाला, क्रसर उद्योगलगायत संरचना निर्माण गरिएको सूचना अधिकारी सुवेदीले बताए । चिप्लेमा १ सय १४ मिटर लामो ब्यारेजसहित १ सय ५८ मिटर डिसेन्डिङ बेसिन र टनेल इन्ट्री पोर्टलको निर्माण भइरहेको उनको भनाइ छ । ‘पोर्टलमा चार वटा ढोका हुनेछन्,’ उनले भने, ‘भेरी वारपार गर्न पुल पनि निर्माण गरिनेछ ।’

दोस्रो चरणअन्तर्गत २०८० साउन २९ भित्र बाँध निर्माण सक्ने गरी काम शुरु भएको र आयोजना सकिएपछि ४.२ मिटर व्यास गोलाइ र १२.२ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी भेरी नदीबाट बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ ।
भेरी नदीमा सुक्खायाममा ८० घनमिटर पानी प्रतिसेकेन्ड बग्छ । १ सय ५२ मिटर लामो हेडको प्रयोग गरेर २४ मेगावाट क्षमताका दुईवटा टर्बाइनमार्फत ४६.८ मेगावाट विद्युत् उत्पादनका लागि विद्युत् गृहको निर्माण गरी वार्षिक ३ सय ८५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

आयोजना निर्माणको संशोधित कुल लागत ३३ अर्ब १९ करोड  रुपैयाँ छ । जसमध्ये सिभिल निर्माण कार्यका लागि ४० प्रतिशत, सुरुङ निर्माणका लागि ३५ प्रतिशत, सुरुङ निर्माण परामर्श सेवाका लागि २ प्रतिशत तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानका लागि ११ प्रतिशत रकम लगानी हुनेछ ।

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array