अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता

होस्ट खबर २९ श्रावण २०७९, आईतवार
3 Min Read
Aa

सुर्खेत : कर्णाली राजधानी सुर्खेतमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन यता कर्णालीका २० मुद्दा विशेष अदालतमा दायर गरेको जनाएको छ ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।
अख्तियारको प्रदेश कार्यालयले आइतबार अमरज्योती नमूना माध्यमिक विद्यालयमा गरेको अन्तरक्रियामा कार्यालय प्रमुख भोला दहालले यस्तो तथ्य बारे विद्यार्थीसंग अन्तरक्रिया गरेको बताइएको छ । कार्यालय प्रमुख दहालका अनुसार कर्णालीको राजधानी सुर्खेतमा भ्रष्टाचारका सबभन्दा धेरै उजुरी परेको बताए । सुर्खेत को गुर्भाकोट देखि विरेन्द्रनगर बाङेसिमल सम्मका सबै विद्यालयहरुमा यस किसिमको सचेतना जगाइएको उनको भनाइ छ ।

कर्णाली प्रदेशको सबभन्दा बढी अनियमितता भनेको बिकास कार्यको अनुगमन नै रहेको कार्यालय प्रमुख दहालले बताए । अनुगमन राम्रो संग गर्ने र सेवा प्रवाह बारेको सूचना नदिने र नागरिक सहयोग कक्ष नराख्नाले अनियमितता बढी देखिएको छ । मालपोत, यातायात लगायतका सरकारी कार्यालयका कागजात दलालका हातमा पुग्नु कर्णालीको ठूलो अनियमितता रहेको देखिएको छ । उनका अनुसार कर्णालीको राजधानीमा रहेको विरेन्द्रनगर नगरपालिकामा सबभन्दा धेरै ३२ उजुरी परेको बताइएको छ । कर्णालीको सबभन्दा कम ५ वटा उजुरी पुर्वी रुकुममा परेको कार्यालय प्रमुख दहालले बताए । अघिला आर्थिक बर्ष कर्णालीमा १ हजार ४ सय उजुरी परेकोमा गत साल १२ सय उजुरी परेको अख्तियारले जानकारी दियो ।

अख्तियारका अनुसार कृषिमा दिइने अनुदानमा पनि धेरै अनियमितता रहेको र अनुदानको दुरुपयोग हुनुको साथै कार्यविधि पालना नभएको पाइएको छ । हुम्ला र मुगुमा सामाजिक सुरक्षा भत्ताका २ वटा उजुरी परेको छ । सरकारी कार्यालय वा सार्वजनिक संस्थाहरुमा टोकन प्रणाली लागू गर्ने, सार्वजनिक सुनुवाइ गर्ने हो भने तथा सचेतनामूलक कार्यक्रम गर्ने हो भने भ्रष्टाचार कम हुने अख्तियारको तर्क छ । कर्णालीका दुर्गम जिल्लामा भ्रष्टाचारका आधारमा उजुरी कम परेको आयोगले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । सुर्खेत र दैलेख बाहेकका जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई समेत भ्रष्टाचारका मुद्दा हेर्ने अख्तियारी दिइएको आयोगले जनाएको छ ।

कार्यक्रममा विरेन्द्रनगर वडा नम्बर १२ का वडा अध्यक्ष चुडामणी चपाँइले आफ्नो वडामा भ्रष्टाचार रोक्न आँफु प्रतिबद्ध रहेको बताए । उनले आफ्नो वडामा नाला निर्माणका क्रममा देखिएको भ्रष्टाचारबारे अख्तियारले छानबिन शुरु गरेको उल्लेख गर्दै यसकिसिमका अनियमितता रोक्न युवाहरु जाग्नुपर्ने बताए । अमर ज्योतिका प्राधानाध्यापक खगेन्द्र थापाले यस किसिमको सचेतनाले विध्यार्थीहरुमा भ्रष्टाचार बारे धेरै जानकारी दिएको बताए । विध्यार्थीहरु भविष्यका राज्यका कर्णदार भएकोले उनिहरुलाई यो जानकारी उपलब्धीमूलक भएको बताए । विध्यालयका व्यवस्थापन संकायका विध्यार्थि सीता आचार्यले अख्तियारले अहिले सम्म गरेको कामको उपलब्धि के छ ? भनेर प्रश्न गरिन् । अख्तियार संग विध्यालयका दयाराम सन्ज्याल, सुरेन्द्र अधिकारी लगायतका विध्यार्थीले विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए ।

अख्तियार सुर्खेतका उपसचिव भेषराज रिजालले विध्यार्थीका जिज्ञासा मेटाउदै अख्तियारबारे समाजमा देखिएका यथार्थहरु राखेका थिए । सन् २०२१ मा भ्रष्टाचारको सूचीमा नेपाल १३७ औं स्थानमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्