जुम्लाको अन्तिम गाउँ जहाँ ‘मदन’हरू भेटिन्छन्

होस्ट खबर
होस्ट खबर २१ श्रावण २०७९, शनिबार
2 Min Read
Aa

जुम्ला : खलंगाबाट कचौरा आकारको विशाल फाँट गुठीचौर हुँदै दूधकुण्डली तालबाट बगेको खोला पछ्याउँदै ३ घण्टाको मोटर यात्रापछि जुम्लाको अन्तिम गाउँ चोत्रा पुगिन्छ ।

टाढैबाट मुगाल समुदायको पहिचान झल्किने ध्वजाले स्वागत गर्छन् । यो गाउँ पुग्दा हुल महिला भेटिए । उनीहरूले खस्रुको जंगलबाट संकलन गरिएका ढोकाया साग बाकेका छन् । ‘जंगलमा पाइने रुगासाग, न्युटो, ढोकाया, निगली साग यहाँका अतिरिक्त सागपात हुन्,’ ती महिलाले सुनाइहाले, ‘सुख्खा हिउँद कटाउन वर्षायाममा संकलन गर्नुपर्नेहुन्छ ।’

ढोकाया अर्थात् जंगली साग । वर्षायाममा संकलन गरिएको सागले सुख्खा हिउँदमा चोत्राबासीको चुलो स्वादिलो बनाउँछ । त्यसो त, जंगलमा पाइने सागदेखि जडीबुटी खाएका चोत्राबासी अरूभन्दा बलिया लाग्छन् ।

समुद्री सतहबाट ३ हजार मिटर उचाइमा अवस्थित चोत्रा गाउँमा चिसोका कारण वर्षमा एक मात्रै बाली पाक्छ । यहाँ जीविकोपार्जनका लागि दुई विकल्प मात्रै छन्– जडीबुटी संकलन र व्यापार ।

‘बढी हिउँ पर्ने, चिसो अत्यधिक हुने हुँदा १२ महिनामा एक बाली मात्रै पाक्छ, झन्डै दशक भयो, गाउँमा परम्परागत खेती त्यागेर सबै व्यापार र जडीबुटी संकलनमा लागेका छन्,’ स्थानीय हिमा रोकाया भन्छिन् ।

असोज–कात्तिकमा सेतो चिनी संकलनको चटारो हुन्छ भने वैशाख लाग्नासाथ चोत्रा गाउँ सुनसान बन्छ । यार्सा संकलनका लागि सबै महिला–पुरुष पाटन पुग्छन् । महिनामा लाखौं आम्दानी हुन्छ । तर, कतिपयले पाटनमै कमाई खर्च पनि गर्छन् । पुरुषको ‘फजुल खर्च’ रोक्न भए पनि ‘महिला साथमै पाटन पुग्ने गरेको’ निमा महातारा बताउँछिन् ।

चोत्राबासीको रहनसहन र भाषा आफ्नै छ । उनीहरूको खामभाषा अन्य भाषीलाई बुझ्न भने कठिन हुन्छ । उनीहरू नेपाली भाषा बोल्छन् र सहजै बुझ्छन् पनि ।

चोत्रा गाउँका पुरुषको अर्को परम्परागत पेसा हो, चीनसँगको व्यापार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’मा जस्तै चोत्रा गाउँका ‘मदन’हरू व्यापार गर्न तिब्बत पुग्छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्