बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

होस्ट खबर २० श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको ‘बेतन कर्णाली जलविद्युत आयोजना’ निर्माणका लागि पूर्वतयारीको काम उत्साहजनक रुपमा काम धमाधम भइरहेको छ  । सुर्खेत र अछाममा निर्माण हुने बेतन गाउँपालिकासम्म यो आयोजनाले समेट्छ । यो आयोजनाले आर्थिक बर्षदेखि निर्माण सुरु गर्ने उद्देश्यका साथ पूर्वतयारीका कामहरु धमाधम थालेको हो ।

कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भई प्रभावित क्षेत्रमा रायसुझाव लिने काम भइरहेको छ भने मुआब्जा वितरणको काम सकिने लागेको छ । आयोजनाको पूर्वाधार निर्माणभन्दा अगाडिको प्रारम्भिक आधारभूत संरचना निर्माणको काम पनि भइरहेको छ ।

जसका लागि अहिले आयोजना स्थलसम्म सडक, क्याम्पहाउस तथा अडिटटनेल निर्माण र विद्युत विस्तार लगायतका कामहरु भइरहेका छन् । अछाम खण्डबाट आयोजनास्थल पुग्न सडक निर्माणको काम सकिएको छ ।

सुर्खेत खण्डमा पनि आयोजना स्थलसम्म सडक निर्माण सुरु भइरहेको छ । आयोजना स्थलसम्म सडक पु¥याउन चौकुने गाउँपालिकाले कोइरालाबासदेखि रातामाटे हुँदै भोक्रेसम्म ट्याक खन्न सुरु गरेको हो ।

आयोजनाको निर्माण कम्पनी बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले नौ किलोमिटर पहुँच मार्ग निर्माण गरिसकेको छ । आयोजनाका प्रमुख उपेन्द्र न्यौपानेले बाँध स्थलमा ५६० मिटरको परीक्षण सुरुङको काम भइरहेको जानकारी दिए ।

अहिले अन्तर्राष्ट्रिय परामर्शदाता छनोटका लागि सार्वजनिक आह्वान गरिएको छ । आयोजना प्रमुख न्यौपानेले अन्तर्राष्ट्रिय परामर्शदाता छनोटमा कम्तीमा छ महिना लाग्ने जानकारी दिए ।

अन्तर्राष्ट्रिय परामर्शदार्ता छनोट भई मुख्य ठेक्का लगाउनेलगायतको प्रक्रिया मिलाउन कम्तीमा दुई वर्ष लाग्ने उनले बताए । मुख्य ठेक्का लागेको पाँच वर्षको अवधिमा उक्त आयोजना निर्माण गर्न सकिने जनाइएको छ ।

९० मिटर अग्लो बाँध निर्माण गर्दा ५.४२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको एक हजार ६१६.९ लाख घनमिटर क्षमताको जलाशय बन्नेछ । उक्त जलाशयबाट सुक्खायाममा ५३६ घनमिटर प्रतिसेकेन्ड तथा वर्षायाममा ५५१.३३ घनमिटर पानी प्रवाह हुने बताइएको छ ।

आयोजना प्रमुख न्यौपानेले आयोजनाका लागि ब्याजसहित ८८ अर्ब लागत लाग्ने अनुमान गरेका छन् । आयोजनामा सबै स्वदेशी लगानी रहनेछ । आयोजनामा ४० प्रतिशत कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको, १५ प्रतिशत कर्मचारी सञ्चय कोषको, १० प्रतिशत नेपाल विद्युत् प्राधिकरणको, १० प्रतिशत विद्युत् उत्पादन कम्पनी लिमिटेडको र बाँकी २५ प्रतिशत सर्वसाधारणको लगानी रहने छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array